‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ विषयक अन्तर्क्रिया कार्यक्रम

नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ विषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौँमा सम्पन्न भएको छ ।

बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय क्षमताका आधारमा तथ्याङ्क तयार गर्ने गरिएको जानकारी दिनुभयो ।

उहाँले सबै सरकारी निकायहरूको तथ्याङ्कमा एकरूपता आउनु आवश्यक रहेको उल्लेख गर्नुहुँदै राष्ट्रिय तथ्याङ्क प्रणालीमा बीमा सम्बन्धी तथ्याङ्कलाई पनि समावेश गर्न र नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र यस सम्बन्धी रणनीतिको परिमार्जनका लागि बीमा सम्बन्धी तथ्याङ्कको विश्लेषण आवश्यक भएको बताउनुभयो ।

अध्यक्ष सिलवालले नागरिकलाई गरिबिको दुष्चक्रबाट मुक्त गराउने माध्यम बीमा हुनसक्ने उल्लेख गर्नुहुँदै हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण, शुद्धता र एकरूपताका लागि सम्बद्ध सबै निकायहरूसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताउनुभयो ।

अध्यक्ष सिलवालले राष्ट्रिय तथ्याङ्क लगायत अन्य निकायबाट सङ्कलन हुने तथ्याङ्कलाई एकीकृत गरी आदान प्रदान गर्ने संयन्त्रको आवश्यकता औँल्याउनुहुँदै यसबाट सरकार र प्राधिकरणको नीति निर्माण, कार्य योजना तर्जुमा र निर्णय तहमा प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले यसै वर्ष परिमार्जन गरिने विश्वविद्यालयको पाठ्यक्रममा बीमालाई अझै विस्तृत रूपमा समावेश गर्ने जानकारी दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सम्बन्धी तथ्याङ्कको सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझ व्यवस्थित गर्नका लागि प्राधिकरणलाई सम्बद्ध निकायहरूको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय सम्बन्धी प्रस्तुति गर्नुहुँदै राष्ट्रिय जनगणना गर्दा बीमा सम्बन्धी प्रश्नावली पनि समावेश गर्नुपर्ने र राष्ट्रिय तथ्याङ्क प्रणाली तथा राष्ट्रिय लेखा प्रणालीमा बीमा सम्बन्धी तथ्याङ्क पनि समावेश हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय तथ्याङ्क कार्यालय, यातायात व्यवस्था विभाग, वैदेशिक रोजगार विभाग, कृषि विभाग, पशु सेवा विभाग र नेपाल राष्ट्र बैङ्कका पदाधिकारीहरू, अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधिहरू, बीमा कम्पनी, पुनर्बीमा कम्पनी र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x