सिराहामा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा अभिकर्ता आधारभूत तालिम

नेपाल बिमा प्राधिकरण, मधेस प्रदेश कार्यालयको सहजीकरण तथा कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई, सप्तरीको आयोजनामा यही फागुन २ गतेदेखि ५ गतेसम्म सिराहाको लहानमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा अभिकर्ता आधारभूत तालिम आयोजना गरेको कम्पनीले जनाएको छ ।

तालिमको सुरुमा नेपाल बिमा प्राधिकरण, मधेस प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बिमा सम्बन्धी कानुनी व्यवस्था, कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ मा भएका प्रमुख व्यवस्था, कृषिबीमालाई प्राथमिकता दिन दिइएका निर्देशन लगायतका बारेमा जानकारी दिनुभएको थियो ।


कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेले कृषि, पशुपन्छी तथा जडीबुटी बिमाको महत्त्व र सरकारबाट कृषिबीमामा उपलब्ध हुँदै आएको अनुदानका बारेमा चर्चा गर्नुभएको थियो ।

विभागका कृषि अर्थ विज्ञ लोकराज सुवेदीले कृषि, पशुपन्छी तथा जडीबुटी बिमा गर्ने विधि र दाबी भुक्तानी प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो । 
तालिममा सहभागीहरूलाई उत्पादनमा आधारित कृषिबाली, तरकारीबाली, माछा, च्याऊ खेती, ब्रोइलर कुखुरा, पशुधन, मौरी, अमिलो जातका फलफूल लगायतका बिमा लेखहरूका बारेमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिएको सोही कम्पनीले बताएको छ ।

तालिम समापन कार्यक्रममा सहभागीहरूलाई नेपाल बिमा प्राधिकरणका तर्फबाट कृषि, पशुपन्छी तथा जडीबुटी बिमा अधिकर्ताको व्यवस्था, बिमा अभिकर्ता दर्ता तथा नवीकरण प्रक्रिया र बिमा अभिकर्ताका लागि आचारसंहिताका बारेमा जानकारी दिनुका साथै प्रमाणपत्र प्रदान गरेको जानकारी दिएको छ ।

कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई, राजविराज, सप्तरीका कार्यालय प्रमुख राम सोगारथ साह, लहान प्राविधिक शिक्षालयका प्रमुख राजेन्द्र चौधरी, बिमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरू र ३१ जना प्रशिक्षार्थीको सहभागिता रहेको सो कम्पनीले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x