भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आइपिओ बाँडफाँड सम्पन्न भइसकेपछि कम्पनीले अब सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएअनुसार कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत बराबर, अर्थात् २० करोड रुपैयाँको २० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। यसमध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण भइसकेको छ।
बाँकी ९ लाख कित्तामध्ये २० हजार कित्ता कम्पनीका कर्मचारीहरू र ५० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्टाइएको छ। त्यसपछि बाँकी रहेको ८ लाख ३० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा माघ १५ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ २६ गतेसम्म खुला रहनेछ। पछिल्लो समय आइपिओ प्रति देखिएको उच्च आकर्षणका कारण निर्धारित समयअघि नै आवेदन भरिने सम्भावना देखिएको छ।
कम्पनीको आइपिओलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा तुलनात्मक रूपमा उच्च जोखिम रहेको सङ्केत गर्दछ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। यस आइपिओको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
भुजुङ्ग हाइड्रोपावरको आइपिओ माघ १२ देखि सर्वसाधारणका लागि खुल्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
