टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको साधारण शेयर (आइपिओ) को बाँडफाँड सम्पन्न गरेको छ।
कम्पनीले कुल जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्टाएको थियो। यसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको थियो।
स्थानीय बासिन्दाका लागि आइपिओ आवेदन २०८२ फागुन २७ गतेदेखि चैत ११ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन २७ गतेदेखि चैत १ गतेसम्म खुला गरिएको थियो। सो अवधिमा स्थानीयतर्फ करिब १ लाख २० हजार र वैदेशिक रोजगारीतर्फ ३० हजार ३०६ जनाको आवेदन परेको थियो।
कम्पनीका अनुसार दुवै समूहको शेयर बाँडफाँड वैशाख ४ गते सम्पन्न भइसकेको छ। बाँडफाँडअनुसार स्थानीय बासिन्दालाई १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३ हजार ६७ कित्ता शेयर वितरण गरिएको छ।
बाँडफाँडमा परेका आवेदकहरूले आफ्नो नतिजा सम्बन्धित बिक्री प्रबन्धकको वेबसाइटमार्फत हेर्न सक्नेछन्। साथै, नपरेका आवेदकहरूको रकम वैशाख ७ गतेदेखि सम्बन्धित बैङ्क खातामा फिर्ता गरिने कम्पनीले जनाएको छ।
