
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। कम्पनीको आइपिओमा अन्तिम दिनसम्म २८ लाख ९७ हजार १२५ जनाले आवेदन दिएका छन्।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आवेदकहरूले कुल ३ करोड १० लाख ८० हजार २१० कित्ता शेयरका लागि माग गरेका छन्। यो सङ्ख्या सर्वसाधारणका लागि निष्कासन गरिएको शेयरको तुलनामा करिब ४४ गुणा बढी हो।
कम्पनीले जेठ २८ गतेदेखि असार २ गते सम्म सर्वसाधारणका लागि ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो। अत्यधिक आवेदन परेकाले शेयर बाँडफाँट गोला प्रथा विधिबाट हुने निश्चित भएको छ।
निष्कासित शेयर सङ्ख्याका आधारमा ७० हजार ५५० जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन्। बाँकी करिब २८ लाख २६ हजारभन्दा बढी आवेदक भने शेयरबाट वञ्चित हुने देखिएको छ।
कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो। यसमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र १७ हजार कित्ता कर्मचारीका लागि छुट्टाएर बाँडफाँट गरिसकिएको छ।
उक्त कोटा छुट्टाएपछि बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो, जसमा अपेक्षाभन्दा निकै बढी आवेदन परेको देखिएको छ।
सर्वोत्तम पेन्ट्सको आइपिओमा झन्डै २९ लाख आवेदन, ७० हजार लगानीकर्ताले मात्रै पाउने शेयर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
