ग्लोबल आइएमई बैङ्कद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैङ्क लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । 

विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ ।

यस उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आबद्ध व्यवसायहरूलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक  सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु हो ।

बैङ्कको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुल्ला भएको घोषणा गर्नुभयो ।

“लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैङ्कले यो प्लेटफर्म तयार गरेको हो । सम्बन्धित क्षेत्रका विषय विज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकहरू मार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ,” उहाँले भन्नुभयो ।

उद्यमशाला कार्यक्रमअन्तर्गत बैङ्कले मुख्यतया दुई वटा ढाँचामा सहयोग गर्नेछ । पहिलो इन्क्युबेसन र दोस्रो एक्सीलेरेसन । इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ । यसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्ग निर्देशन प्रदान गरिनेछ ।

त्यसै गरी, एक्सीलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीहरूलाई समेटिनेछ । यस अन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ ।

यस कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैङ्क तथा वित्तीय संस्थासँगको पहुँच जस्ता महत्त्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैङ्कले विश्वास लिएको छ ।

उक्त उद्घाटन समारोहमा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत, उच्च पदस्थ व्यवस्थापकहरू, साझेदार संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैङ्कले बैङ्क अफ द इयर २०१४, वेस्ट इन्टरनेट बैङ्क २०१६, वेस्ट बैङ्क नेपाल २०२४, २०२५ र २०२६, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४, वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखा रहित बैङ्किङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा  पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x