
अब बैङ्क तथा वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको सेयर तथा डिबेन्चरमा कम्तीमा ४५ दिनको अवधिका लागि मात्र लगानी गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित निर्देशन अनुसार सर्वसाधारणमा सेयर निष्कासन गरी नेप्सेमा सूचीकृत भइसकेका सङ्गठित संस्थाको सेयर तथा डिबेन्चरमा बैङ्क तथा वित्तीय संस्थाले ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न सक्नेछन्। यसअघि यस्तो लगानीको न्यूनतम अवधि ६ महिना कायम थियो।
त्यस्तै, बैङ्क तथा वित्तीय संस्थाले कुनै पनि माध्यमबाट सङ्गठित संस्थाको सेयर तथा डिबेन्चरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको छ।
राष्ट्र बैङ्कले सरकारी सुरक्षण पत्र, नेपाल राष्ट्र बैङ्क ऋणपत्र तथा सङ्गठित संस्थाका सेयर र डिबेन्चर लगायतका उपकरणमा लगानी गर्दा सट्टेबाजीजन्य जोखिम (स्पेकुलेटिभ रिस्क) न्यूनीकरण हुने गरी आवश्यक व्यवस्था समेटिएको लगानीसम्बन्धी नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने व्यवस्था गरेको छ।
नीतिगत व्यवस्थासम्बन्धी विषय
- लगानीको उद्देश्य तथा रणनीति,
- लगानी गर्न सकिने शेयर, डिबेन्चरलगायतका उपकरण,
- लगानी उपकरणलाई बैङ्किङ बुक र ट्रेडिङ बुकमा वर्गीकरण,
- एक्सेप्टेबल एनड अएक्सेप्टेबल इन्भेस्टमेन्ट,
- इलिजिबल काउन्टपार्टी,
- लगानीको उपकरणअनुसारको न्यूनतम र अपेक्षित होल्डिङ अवधि,
- सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको सङ्गठित संस्थाको शेयर तथा डिबेन्चरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइने व्यवस्था । यसबाहेक कुनै पनि किसिमको प्रबन्धबाट सङ्गठित संस्थाको शेयर तथा डिबेञ्चरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था,
- लगानीसम्बन्धी निर्णय तथा कारोबारमा आफ्नो स्वामित्वमा रहेका सहायक कम्पनी, उल्लेख्य स्वामित्व रहेका शेयर धनी र रिस्क टेकरसँग स्वार्थको द्वन्द्व नहुने व्यवस्था गरी सोको पहिचान, अनुगमन, नियन्त्रण र रिपोर्टिङ गर्ने सम्बन्धमा अवलम्बन गर्ने विधि र प्रक्रिया,
- लगानी स्वीकृत गर्ने स्पष्ट प्रक्रिया तथा अख्तियारीसम्बन्धी व्यवस्था र लगानी कारोबार गर्न तोकिएको अधिकारीले लगानी गर्न सक्ने सीमासम्बन्धी व्यवस्था,
- लगानी गर्न अख्तियारी प्राप्त अधिकारीको क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था,
जोखिम व्यवस्थापनसम्बन्धी विषय
- लगानीमा संलग्न एएलसीओ लगायतका विभिन्न समिति तथा इकाईहरूको स्पष्ट कार्य विभाजन र जिम्मेवारी,
- ट्रेडिङ स्ट्राटेजी, रिस्क एपिटाइट एन्ड लिमिट्स तथा प्रोफिट एन्ड स्टप लस ट्रिगर्स एन्ड लिमिट
- इन्भेस्टमेन्ट एक्सपोजर तथा कन्सन्ट्रेसन लिमिट,
- डेली मार्क टु मार्केट (ट्रेडिङ बुक),
- दबाब परीक्षणलगायतका अन्य बजार जोखिम मापन गरी व्यवस्थापन गर्ने विधि, प्रक्रिया र मोडलहरू,
- लगानीबाट उत्पन्न हुन सक्ने बजार जोखिम, तरलता जोखिम तथा अन्य जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङको सम्बन्धमा अवलम्बन गर्ने विधि र प्रक्रिया,
- वित्तीय उपकरणको इस्युअरको नियमित रूपमा इन्टरनल रिस्क रेटिङ गर्ने व्यवस्था,
रिपोर्टिङसम्बन्धी विषय
- म्यानेजमेन्ट रिपोर्ट, ब्रिच रिपोर्टलगायतका रिपोर्ट
- अडिट ट्रायल, लग तथा रेकर्डका साथै यसरी तयार गरिएको नीति तथा कार्यविधि यस बैङ्कको सम्बन्धित सुपरिवेक्षण विभागमा तोकिएबमोजिम पेस गर्नुपर्नेछ ।
