
नबिल बैङ्कले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैङ्कले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
बैङ्कको हाल कायम चुक्ता पुँजीमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो। यस्तै, ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस हुनेछ।
उक्त प्रस्ताव पारित गर्न बैङ्कले असोज २२ गते ४२औँ वार्षिक साधारण सभा बोलाएको छ। काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेबाट सभा सुरु हुनेछ।
सभाले बैङ्कको अधिकृत पुँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न आवश्यक भएकाले सोहीअनुसार प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ। नियमनकारी निकायबाट संशोधन वा फेरबदलका लागि निर्देशन आएमा सोहीअनुसार आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।
यस्तै, अन्य बैङ्क तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा अन्य बैङ्क तथा वित्तीय संस्था प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा त्यससम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले संस्थापक शेयर धनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचनसमेत गर्नेछ।
यसै गरी, सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिनेछ।
सभाले बैङ्कका सहायक कम्पनी नबिल इन्भेस्टमेन्ट बैङ्किङ र नबिल स्टक डिलरको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गर्नेछ।
असोज १३ गतेसम्म कायम शेयर धनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
