
रिज लाइन इनर्जीले आर्थिक वर्ष २०८२/८३ का लागि १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीका आधारमा उक्त रकम बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पाँचौँ वार्षिक साधारणसभा पनि बोलाएको छ।
कम्पनीको साधारणसभा आगामी कात्तिक १७ गते ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले प्रस्तावित नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
यस्तै, सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभामा दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै, १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण तथा बिक्री गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ।
यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाबाट अनुमोदन हुनेछ।
