राष्ट्र बैङ्कद्वारा चालूपूँजी कर्जाको सीमा निर्धारण, पारदर्शी उपयोग र सदुपयोगिता विकास मूल उद्देश्य


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कले इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालुपूँजी प्रकृतिका कर्जा प्रवाहका लागि मार्गदर्शन, २०७८ प्रकाशन गरेको छ। इजाजतपत्रप्राप्त बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालुपूँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यको मूलभूत विषयमा एकरूपता कायम गर्नु, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउनु र कर्जा सदुपयोगिता यकिन गर्न सकिने आधारभूत पद्धति विकास गर्नु यस मार्गदर्शनको उद्देश्य रहेको केन्द्रीय बैङ्कले जानकारी दिएको छ ।

चालू पुँजी प्रकृतिका कर्जाको सीमा निर्धारण तथा अनुगमन प्रक्रिया संस्थापिच्छे फरक फरक हुँदा विविधता मात्र नभई चालुपूँजी कर्जाको लागि ऋणीको क्षमताको विश्लेषण त्रुटिपूर्ण र कमजोर हुने गरेको राष्ट्र बैङ्कले उल्लेख गरेको । यस प्रकारको कर्जा निरीक्षण तथा सुपरिवेक्षणको क्रममा कर्जाको सदुपयोगिता यकिन गर्न समेत कठिन हुने गरेको केन्द्रीय बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले एक करोडसम्मको र एक करोड भन्दा माथिको गरी दुई प्रकारका चालु पुँजी कर्जा सीमा निर्धारण गरेको छ । कुनै पनि फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु.१ करोड वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक अनुमानित कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । उक्त मार्गदर्शनका अनुसार यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने व्यवस्था रहेको छ । त्यसै गरी एक करोडसम्मको चालूपूँजी कर्जा बैङ्क तथा वित्तीय संस्थाले स्वीकृत गर्नु अघि फर्म/संस्था/कम्पनीको चालू सम्पत्तिको परीक्षण तथा मूल्याङ्कन गरी कर्जा सीमा र कर्जा लिन सक्ने क्षमताको विश्लेषण गर्नु पर्ने मार्गदर्शनमा उल्लेख छ । यस्तो विश्लेषणबाट प्राप्त मूल्याङ्कनको आधार पश्चात् कर्जा प्रवाहको सीमा निर्धारण गर्नुपर्ने राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

त्यसै गरी, फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु.१ करोडभन्दा बढी रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा चालू पुँजी आवश्यकताको विश्लेषण गर्दा ‘परमानेन्ट वर्किङ क्यापिटल नीड’ र ‘टेम्पररी/फ्ल्कचुएटिंग वर्किङ क्यापिटल नीड’को पहिचान गर्नुपर्ने निर्देशन राष्ट्र बैङ्कले दिएको छ।

यस अधिक ‘टेम्पररी/फ्ल्कचुएटिंग वर्किङ क्यापिटल नीड" को लागि वार्षिक अनुमानित कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमभन्दा बढी नहुने गरी कर्जा सीमा स्वीकृत गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । उक्त मार्गदर्शनका अनुसार यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने व्यवस्था रहेको छ। यता, मार्गदर्शनका अनुसार बैङ्क तथा वित्तीय संस्थाले 'परमानेन्ट वर्किङ क्यापिटल नीड’ को लागि कम्तीमा ५ वर्षको आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ।

इजाजतपत्रप्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूले चालू पुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखा परीक्षण भएको विवरणको विश्लेषण गरी आफ्नो चालू पुँजी कर्जा सम्बन्धी नीति बमोजिम गर्नु पर्ने निर्देशन राष्ट्र बैङ्कले दिएको छ । व्यावसायिक कारोबार सुरु भएको तीन वर्षभन्दा कम अवधि भएका वा नयाँ फर्म/संस्था/कम्पनीको हकमा बैङ्क तथा वित्तीय संस्थाले आफ्नो चालूपूँँजी कर्जा सम्बन्धी नीति बमोजिम सीमा निर्धारण गर्न सक्ने मार्गदर्शनमा उल्लेख छ ।

चालू पुँजी कर्जा ऋणीको चालूपँजीको आवश्यकताको लागि भएकोले यस्तो कर्जा चालू सम्पत्तिको सुरक्षणबाट सुरक्षित हुनु पर्ने उक्त मार्गदर्शनले सुझाएको छ । इजाजतपत्रप्राप्त संस्थाको चालू पुँजी कर्जा सम्बन्धी नीतिले कर्जा सुरक्षणको लागि आवश्यक पर्ने चल सम्पत्तिको मात्रा तथा मार्जिन स्पष्ट खुलाउनु पर्ने निर्देशनमा राष्ट्र बैङ्कले जोड दिएको छ । चालू पुँजी कर्जाको सुरक्षणका लागि 'प्लेज' वा 'हाइपोथिकेसन' जस्ता सुरक्षण, कर्जा तमसुक, प्रतिज्ञा पत्र, बीमालेख लगायत अन्य आवश्यक सुरक्षण लिएर कर्जा लगानी गर्नुपर्ने तथा चालूपूँजी कर्जाको लागि चल सम्पत्ति बाहेक अन्य कुनै पनि प्रकारको स्थिर वा अचल सम्पत्ति सुरक्षण आवश्यक नपर्ने मार्गदर्शनको मस्यौदामा उल्लेख छ ।

चालुपूँजी प्रकृतिका कर्जा प्रवाहका लागि नेपाल राष्ट्र बैङ्कद्वारा प्रकाशित मार्गदर्शन, २०७८ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x