विद्युतीय माध्यम मार्फत हुने भुक्तानीको कारोबार रकम र सङ्ख्यामा उल्लेख्य वृद्धि


ज्ञानमाण्डू।बढ्दो इन्टरनेटको पहुँच र विद्युतीय भुक्तानीको सचेतनाको परिणाम स्वरूप पछिल्लो समय विद्युतीय भुक्तानीको प्रयोग र कारोबार दुवै उल्लेख्य रुपमा वृद्धि भएको छ। यसका साथै, विद्युतीय भुक्तानीको लोकप्रियता बैंकिंग, सरकारी तथा अन्य क्षेत्रहरूमा निकै बढेको देख्न सकिन्छ। नेपाल राष्ट्र बैङ्कको चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ्क अनुसार नेपालमा विभिन्न विद्युतीय भुक्तानी मार्फत सेवा लिने ग्राहकको सङ्ख्या निकै वृद्धि भएको छ । उक्त अवधिमा करिब ५० खर्ब रुपैंया रकम बराबरको भुक्तानी विभिन्न विद्युतीय माध्यम मार्फत भएको प्रतिवेदनले जनाएको छ।

समीक्षा अवधिमा ४९ खर्ब ३१ अर्ब रुपैंया रकम अधिकको विद्युतीय कारोबार भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३९.६२ प्रतिशतको वृद्धि हो। गत आर्थिक वर्षको सोही अवधिमा विभिन्न विद्युतीय भुक्तानी सेवा प्रदायकहरू मार्फत २० खर्ब ५८ अर्ब रुपैंया रकम अधिकको कारोबार भएको थियो। सो अवधिमा सर्वाधिक कारोबार हुने विद्युतीय भुक्तानी माध्यम आरटीजीएस(RTGS) प्रणाली रहेको तथ्याङ्कले देखाएको छ। समीक्षा अवधिमा विद्युतीय भुक्तानी प्रदायक आरटीजीएस मार्फत सेवा लिने ग्राहकको सङ्ख्या वृद्धि भएसँगै कारोबार सङ्ख्या र रकम दुवै उकालो लागेका छन्।

बढ्दो लोकप्रियता सँगै चालु आर्थिक वर्षको चार महिनामा आरटीजीएसको प्रयोग मार्फत ५५ हजार ८९७ वटा कारोबार हुँदा उक्त विद्युतीय भुक्तानी प्रदायक बाट मात्रै ३६ खर्ब ४२ अर्ब रुपैंया रकम अधिक विद्युतीय कारोबार भएको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आरटीजीएसको प्रयोग मार्फत हुने कारोबार सङ्ख्या ६०.७९ प्रतिशतले वृद्धि भएको छ भने कारोबार रकम २२८.६४ प्रतिशतले वृद्धि भएको छ।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा प्राय सबै विद्युतीय भुक्तानी प्रदायकहरू बाट हुने कारोबार सङ्ख्या र विद्युतीय कारोबार रकम दुवै वृद्धि भएको देख्न सकिन्छ। तर, उक्त अवधिमा भने विद्युतीय भुक्तानी प्रदायक आइपियस(IPS)को प्रयोग मार्फत हुने कारोबार सङ्ख्या गत आर्थिक वर्षको सम्बन्धित अवधिको तुलनामा ४६.८ प्रतिशतले वृद्धि हुँदा कारोबार रकममा भने १९.४४ प्रतिशतले गिरावट आएको छ। गत आर्थिक वर्षको चार महिनामा उक्त विद्युतीय भुक्तानी प्रदायकको मार्फतबाट मात्रै १ खर्ब ७० अर्ब रुपैंया रकम अधिक विद्युतीय कारोबार भएको थियो जुन चालु आर्थिक वर्षको सम्बन्धित अवधिमा आइपुग्दा घटेर १ खर्ब ३७ अर्ब रुपैंयामा सीमित भएको छ। त्यस्तै, इ कमर्सको मध्यम मार्फत हुने विद्युतीय कारोबार रकममा पनि गत आर्थिक वर्षको सम्बन्धित अवधिको तुलनामा ४५.९६ प्रतिशतको गिरावट आएको छ। उक्त विद्युतीय भुक्तानी प्रदायकको कारोबार सङ्ख्या पनि गत आर्थिक वर्षको तुलनामा ३१.७९ प्रतिशतले घटेको देख्न सकिन्छ।


यस अवधिमा विद्युतीय भुक्तानी सेवाको कारोबार सङ्ख्यामा पनि निकै राम्रो परिणाम देखिएको छ। गत आर्थिक वर्षको कात्तिक महिनासम्ममा विद्युतीय माध्यम मार्फत जम्मा ३ करोड ४० लाख ९५ हजार १०० वटा कारोबार भएका थिए जुन चालु आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा ४२.७४ प्रतिशतले वृद्धि हुँदै ४ करोड ८६ लाख ६८ हजार ४७२ वटा कारोबार सङ्ख्यामा परिणत भएको तथ्याङ्कले जनाएको छ। सो अवधिमा सर्वाधिक कारोबार सङ्ख्या रहेको विद्युतीय भुक्तानी माध्यम मोबाइल 'वालेट' रहेको छ। समीक्षा अवधिमा विद्युतीय भुक्तानीको निकै लोकप्रिय माध्यम मोबाइल 'वालेट'हरू हुन्। उक्त विद्युतीय भुक्तानी प्रदायक मार्फत सेवा लिने ग्राहकको सङ्ख्या वृद्धि भएसँगै कारोबार सङ्ख्या र रकम दुवै उकालो लागेका छन्।

मोबाइल 'वालेट'हरू विद्युतीय भुक्तानीको आकर्षक र सजिलो माध्यम हुन्। हिजो आजको समयमा आम मानिसले दैनिक जीविका चलाउनेदेखि आधारभूत आवश्यकता पूरा गर्न यी मोबाइल 'वालेट'हरू कै धेरै प्रयोग गर्ने गरेको पाइएको छ। चालु आर्थिक वर्षको चार महिनामा मोबाइल 'वालेट'हरूको प्रयोग मार्फत १ करोड ३० लाख ३० हजार ८०४ वटा कारोबार भएका छन्। सो अवधिमा उक्त विद्युतीय भुक्तानी प्रदायक बाट मात्रै १३ अर्ब ९४ करोड रुपैंया रकम अधिक विद्युतीय कारोबार भएको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मोबाइल 'वालेट'हरूको प्रयोग मार्फत हुने कारोबार सङ्ख्या ३३.६५ प्रतिशतले वृद्धि भएको छ भने कारोबार रकम ६२.३५ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा विद्युतीय भुक्तानी प्रदायक कनेक्ट आइपियस(connect IPS) विद्युतीय भुक्तानीको आकर्षक सेवा प्रदायक भएको छ। ग्राहकहरू माझ निकै लोकप्रिय यस विद्युतीय भुक्तानी प्रदायक मार्फत यस अवधिमा २७ लाख ६० हजार ५३० वटा कारोबार हुँदा उक्त विद्युतीय भुक्तानी प्रदायक बाट मात्रै २ खर्ब ३ अर्ब रुपैंया रकम अधिक विद्युतीय कारोबार भएको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कनेक्ट आइपियसको प्रयोग मार्फत हुने कारोबार सङ्ख्या १६८.५२ प्रतिशतले वृद्धि भएको छ भने कारोबार रकम १७५.८९ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको कात्तिक महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कारोबार सङ्ख्या र कारोबार रकम दुवै सर्वाधिक वृद्धि गर्न सफल विद्युतीय भुक्तानी प्रदायक 'क्यु आर'(QR) भुक्तानी सेवा भएको छ। भुक्तानी गर्न स्क्यान मात्र गरे पुग्ने यस सेवा प्रदायकले गत आर्थिक वर्षको सम्बन्धित अवधिको तुलनामा कारोबार सङ्ख्या र कारोबार रकममा क्रमशः ४७३.८१ प्रतिशत र ४७१.०८ प्रतिशतको वृद्धि गरेको तथ्याङ्कले देखाएको छ। यो उल्लेखित अधिकांश विद्युतीय भुक्तानी प्रदायकहरू मध्येको सबैभन्दा उत्कृष्ट वृद्धिदर हो।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको राष्ट्र बैङ्कले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x