कात्तिकमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले घट्यो


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको कात्तिक महिनामा विप्रेषण आप्रवाह ‘रेमिटेन्स’मा ७ प्रतिशत अधिकले कमी आएको छ ।केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह चालु आर्थिक वर्षको चौथो महिनामा ७.५ प्रतिशतले घटेर जम्मा ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँमा सीमित भएको छ । कात्तिक महिनामा ७३ अर्ब रेमिटेन्स थप भित्रिएको छ।

नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको श्रावण महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । चालु आ.व.को दोस्रो महिना अर्थात् भदौमा रेमिटेन्स आप्रवाह करिब ८० अर्बले थप भई १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो। चालु आर्थिक वर्षको असोजमा पनि करिब ८४ अर्बले थप भई कुल २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएता पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाहमा ७.६ प्रतिशतको कमी आएको तथ्याङ्कले देखाएको थियो ।

त्यसै गरी, चालु आर्थिक वर्षको कात्तिक महिनाको अन्त्यसम्म मुलुकमा जम्मा ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.५ प्रतिशतको गिरावट हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको थियो ।

चालु आर्थिक वर्षको कात्तिक अन्त्यसम्म आइपुग्दा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई ९६,३८२ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमान २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७८.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आई रु.३४५ अर्ब ६५ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो

स्रोत: नेपाल राष्ट्र बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x