कृषि यान्त्रिकीकरणमा जोडः किसानलाई अनुदानमा कृषि औजार वितरण

ज्ञानमाण्डू।कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । 

कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । 

वडाका सबै कृषकलाई समेट्ने गरी पाँच/पाँच जनाको समूह बनाएर प्रति समूह एक मिनीटेलर गरी कूल ३० मिनीटेलर वितरण गरेको वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले बताए । “गाउँमा काम गर्न सक्ने जनशक्ति विदेशिएर काम गर्ने मान्छे नभएपछि खेतीमा सहजता प्रदान गर्नका लागि ५० प्रतिशत अनुदानमा मिनीटेलर वितरण गरेका छौँ”, गौतमले भनेका छन् , “गोरु पाल्न छाडेको र काम गर्न सक्ने युवा अहिले प्रायः गाउँमा नभएका कारण खेती गर्न नसकेर जमिन बाँझो राख्न थालेपछि सहजताका लागि ४० हजार पर्ने औजारलाई रु २० हजार वडा कार्यालय र २० हजार किसान समूहले ब्यहोर्नेगरी औजार वितरण गरेका हौँ ।” 

औजार वितरण गरेपछि काममा सहजता पनि हुने र काम गर्नेले पालैसँग जोत्दा रोजगार पनि पाउने भएकाले यान्त्रिकीकरणलाई जोड दिएको वडाध्यक्ष गौतमको भनाइ छ । यसै गरी वडा कार्यालयको अनुदानमा यहाँका मुख्य बस्तीमा सात कुटानी/पिसानी मिल वितरण गरेको छ । रु ४० हजार पर्ने मिल ५० प्रतिशत अनुदानमा गाउँका मुख्य बस्तीमा वितरण गरेको वडाध्यक्ष गौतमले बताए । वडाका बाँझे, तुसारे, पोखरीडाँडा, सुलिकोट, बिरुवा, रैकर र पञ्चकन्या टोलमा मिल वितरण गरिएको हो । 

त्यस्तै किसानको मागका आधारमा वडा कार्यालयले ५० प्रतिशत अनुदानमा ४० मौरीको घार पनि वितरण गरेको छ । चार हजार पर्ने घार ५० प्रतिशत अनुदानमा वितरण गरिएको वडाध्यक्ष गौतमले उल्लेख गरे  । मौरी पालनका लागि गाउँपालिकाभरिकै उपयुक्त रहेको वडा नं ५ का किसानको मागलाई सम्बोधन गरेर घार वितरण गरिएको जनाइएको छ । त्यस्तै किसानलाई पाँच प्लास्टिक पोखरी र प्लास्टिक टनेल पनि वितरण गरिएको छ । किसानलाई कृषि कार्यमा उत्साह र उत्प्रेरणा प्रदान गर्न कृषि वस्तु उत्पादन र खेती प्रणालीमा सहजता प्रदान गर्न सहयोग गरिएको वडा कार्यालयले जनाएको छ । 

कृषि सामग्री वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले गाउँपालिकालाई बिस्तारै औद्योगिकीकरण र यान्त्रिकीकरणलाई जोड दिएको जानकारी दिए  । गाउँका किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न गाउँपालिकाले सहयोग गर्ने पनि उनले बताएका छन् । रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x