ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा पदभार ग्रहण

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २०७७ भाद्र १ गते सोमबारदेखि आफ्नो पदभार ग्रहण गरेका छन् । सोमबार बिहान बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो पदभार ग्रहण गरेका हुन् ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पद तथा गोपनियताको सपथ गराएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले अहिलेको बैंकिङ्ग क्षेत्रको चुनौतिलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेतृत्व पाएको बताए । “उहाँ एक अब्बल बैंकर हो । ग्लोबल आइएमईले उहाँलाई दोस्रो कार्यकालका लागि पाएको छ । यो हाम्रो लागि पनि एउटा अवसर हो । यसअघि बैंक मर्जर र मर्जरपछिको व्यवस्थापनमा उहाँले खेलेको भूमिका सराहनीय रहेको थियो । अबका दिनमा पनि बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्न उहाँको भूमिका रहने छ,” ढकालले बताए ।


कार्यक्रममा बोल्दै नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुवै रहेको बताए । उनले बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौति आफ्नो सामु रहेको बताए । “मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पु¥याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैंक भन्ने मूल नारालाई साकार पार्ने गरी मैले काम गर्नेछु ।” उनले भने ।


बैंकको सञ्चालक समितिको २०७७ श्रावण ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।

 

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरुगरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ । वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यस अघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x