स्वास्थ्य बीमा कार्यक्रम पर्वतमा शुरु

ज्ञानमाण्डू।स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम पर्वतमा शुरुआत भएको छ । हालसम्म सो कार्यक्रम देशका ५२ जिल्लामा कार्यान्वयनमा आइसकेको छ । 

सोमबार जिल्लाका सात वटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागितामा सदस्यता दर्ता शुभारम्भ गरिएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेललाई ‘स्वास्थ्य बिमा सदस्यता परिचयपत्र’ वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका छन् । 

सो कार्यक्रम गण्डकी प्रदेशका अन्य ६ जिल्लामा लागू भइसकेको छ । जिल्लाका स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिएको छ । जिल्लाका ६१ वडामा एक/एक जनाका दरले सहयोगी नियुक्त गरिएको हो । 

स्वास्थ्य बिमा गर्नका लागि पाँचजनासम्मको परिवारले वार्षिक तीन हजार ५०० र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्यको थप सात सय बिमा रकम तिर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बिमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने जनाइएको छ । साथै बिमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन् ।
  
त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँचजनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य रु २० हजार थप गरी रु दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्थासमेत गरिएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख पौडेलले बिमा कार्यक्रमलाई जिल्लाभर प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा गण्डकी प्रदेशमा स्वास्थ्य बीमाको अवस्थाबारे बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिएका थिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x