नेपाल–अष्ट्रेलिया सम्बन्ध ६० औँ वर्षमा, नेपालको उन्नयनमा साझेदार

ज्ञानमाण्डू।नेपाल–अस्ट्रेलिया औपचारिक सम्बन्ध शनिबारदेखि ६० औँ वर्षमा प्रवेश गर्दै छ । बितेका ५९ वर्षमा नेपालको उन्नयनको भरपर्दो साझेदारका रूपमा क्यानबेराले आफूलाई काठमाडौँमा स्थापित गरेको छ । 

प्रारम्भदेखि नै अष्ट्रेलियाली सरकार र त्यहाँको निजी क्षेत्रले नेपालको सामाजिक–आर्थिक विकासका साथै स्वास्थ्य, शिक्षा, जलविद्युत्, दिगो सामुदायिक वन व्यवस्थापन, कृषि, सुशासन र सेवा प्रवाहको सुदृढी, नागरिक उड्डयन र पशुपन्छी व्यवस्थापनमा सघाउँदै आएको छ । विशेष गरी महिलालाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न उनीहरूलाई साना तथा मझौला उद्योगका माध्यमबाट आयआर्जनका उपक्रममा सहभागी गराउन उसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । अष्ट्रेलियाली सहयोग नेपाल सरकारलाई सोझै, विभिन्न दातृ निकाय र संयुक्त राष्ट्रसङ्घीय निकायमार्फत उपलब्ध हुँदै आएको छ । 

नेपाल सरकारको गरिबी घटाउने रणनीति, आधारभूत शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, स्थानीय तहमा सुशासन प्रवर्द्धन, शान्ति निर्माण, उच्च शिक्षा, अल्प र दीर्घकालीन छात्रवृत्ति उपलब्ध गराएर मानव संशाधन विकासमा पनि अष्ट्रेलियाले उल्लेख्य रूपमा सहयोग गर्दै आएको छ । गोरखा भूकम्पबाट पीडित भएकालाई मानवीय सहायताअन्तर्गत अष्ट्रेलियाले राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व खाद्य कार्यक्रम, राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र स्थानीय गैरसरकारी संस्थामार्फत नेपाललाई सहयोग गरेको छ भने करिब रु ४७ करोड भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । 

नेपालमा लामो समयदेखि शरणार्थीका रूपमा रहेका भुटानी नागरिकलाई तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत छ हजार ६०० भूटानीलाई अस्ट्रेलियामा स्थायी बसोबासको प्रबन्ध मिलाएर नेपालको शरणार्थी समस्या समाधानमा योगदान गरेको छ । विगतको तुलनामा अष्ट्रेलियाले नेपालको विकास प्रयासमा सघाउन औपचारिक सहायता रकममा वृद्धि गरेको छ । सन् २०१९–२० का लागि उसले दुई करोड २५ लाख अष्ट्रेलियन डलर उपलब्ध गराएको छ भने यसअघि एक करोड ६७ लाख अष्ट्रेलियन डलर सहयोगस्वरुप प्रदान गरेको थियो । 

नेपालको विकासका प्राथमिकता तथा सरकारले निर्धारण गरेका विकास–निर्माणका परियोजनामा अष्लियाली सहयोग केन्द्रित रहेको बताउँछन् परराष्ट्र सचिव शङ्करदास वैरागी । “दुई देशबिचको बहु आयामिक सम्बन्ध पछिल्ला दिनमा अझ प्रगाढ भएको छ, सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत त्यो सम्बन्ध झाङ्गिएको छ”, रोजगारी र उच्च शिक्षा हासिल गर्न नेपालीका लागि आकर्षक गन्तव्य देश अस्ट्रेलिया बनेको यथार्थ सुनाउँदै उनीले भने । 

राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का सदस्य नेपाल र अष्ट्रेलियाले क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा चासोका विषयमा सहकार्य गर्दै आएका र पारस्परिक सम्बन्धलाई दुवै देशले नयाँ उचाइमा पुर्‍याउन चाहेका उनेले उल्लेख गरे । अष्ट्रेलियासँग सिधा हवाई सम्पर्क स्थापनाको प्रयास भइरहेको तथा अधिकभन्दा अधिक अष्ट्रेलियाली पर्यटकलाई नेपाल भ्रमण गराउन सम्बद्ध अधिकारीहरूसँग निरन्तर छलफल भइरहेको सचिव वैरागी बताउँछन् । अष्ट्रेलियासँग व्यापार विस्तार र पर्यटन प्रवर्द्धनलाई नेपालले महत्त्व दिएको उनको कथन छ । 

साहसिक पर्यटनका निम्ति अष्ट्रेलियालीहरूको रोजाइको गन्तव्य देश नेपाल हो । पर्यटन महाशाखाका अनुसार गत वर्ष ३९ हजार अष्ट्रेलियालीले नेपाल भ्रमण गरेका थिए भने सन् २०१८ मा उक्त देशका ३३ हजार नागरिक यहाँ आएका थिए । 

हाल अस्ट्रेलियामा एक लाख १२ हजारभन्दा बढी नेपाली छन् । उनीहरूले पनि द्विदेशीय सम्बन्धलाई सुदृढ तुल्याउन सद्भावना दूतको भूमिका निर्वाह गरिरहेका छन् । दुई मुलुकबिच कूटनीतिक दौत्य सम्बन्ध कायम भएयता एक हजारभन्दा बढी नेपाली छात्रवृत्तिबाट लाभान्वित भएका छन् जसले नेपालको आर्थिक–प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई केहीहदसम्म भए पनि परिपूर्ति गरेको छ । 

नेपाल–अस्ट्रेलिया कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष प्रवेशका अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एकापसमा शुभकामना तथा बधाई सन्देश आदानप्रदान गरेर पारस्परिक सम्बन्धलाई परिवर्तित विश्व परिवेशअनुरुप सबल र सुदृढ तुल्याउँदै अघि बढ्ने प्रण गरेका छन् । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अष्ट्रेलियाका विदेशमन्त्री मारिसे प्यानेले नेपाल र अष्ट्रेलियाबीच विद्यमानमैत्री र साझेदारी आपसी विश्वास र समझदारीमा आधारित रहेको बताउँदै दुवै देश र जनताको बृहत्तर हितका निम्ति त्यसलाई अझ सघन एवं सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x