‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित

ज्ञानमाण्डू।पर्यटनको प्रचुर सम्भावना रहेको सिद्धिचरण नगरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा रहेको सिद्धिचरण नगर घुम्न आउने पर्यटक अहिले मन खिन्न पारेर फर्किने गरेका छन् । सकेन 

‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेका सिन्धुपाल्चोकका विपिन न्यौपाने साथीहरुसहित माघ पहिलो साता यहाँ आए । उनले कवितामा कल्पना गरेजस्तो मन भुलाई हाल्ने ठाउँ सदरमुकाम आसपासमा भेटेनन् । “प्राकृतिक रूपले कवितामा जतिकै सुन्दर लाग्यो ।” उनले भने , “तर आकर्षक पूर्वाधार बनाएर हामी जस्तो बाहिरबाट घुम्न आउनेलाई अडिन मन लाग्ने ठाउँ बनाएको पाइँन । क्या मज्जा लिउँला भनेर आइयो खास स्वाद आएन ।” साँघुरो सडक र अव्यवस्थित पार्किङजस्ता कुराले झन् दुःख हेर्न आएको महसुस भएको उनले बताए । 

उनले जस्तै यहाँ आउने अधिकांशले कविता पढेर परिकल्पना गरेजस्तो ओखलढुङ्गा नपाउँदा खिन्न हुन्छन् । पर्यटन वर्ष चलिरहँदासमेत जिल्लाका कुनै स्थानीयतहले पर्यटक भित्र्याउन गतिलो योजना बनाएका छैनन् । पछिल्लो समय पूर्वाधारका नाममा बाटो खन्ने र महोत्सव गर्नेभन्दा अन्य योजनाले प्राथमिकता पाएका छैनन् । पर्यटक लोभ्याउने ठाउँ नभएसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने र रमाउने अवस्था नरहेको पर्यटन व्यवसायी डेण्डी शेर्पा बताउँछन् । “स्वदेशी विदेशी हामीसँग धेरै पर्यटक सम्पर्कमा हुन्छन् । आफ्नो जिल्लामा लैजाउँ भन्यो भने घुम्ने हेर्ने खास छैन ।” उनले भने , “प्राकृतिक सम्पदा त छँदै छन् । पूर्वाधार विकास भएन । यी दुवै कुरा मिलाएर आकर्षक विकास नभएसम्म पर्यटन प्रवर्द्धन हुँदैन ।” 

डेढ दशकअघि निर्माण सुरु भएको सदरमुकामसँगै रहेको थामडाँडास्थित शहीद उद्यान सम्पन्न नहुँदै जीर्ण भइसकेको छ । ढुङ्गा माटोका केही सिँढी र एउटा टहराभन्दा अरू पूर्वाधार निर्माण भएनन् । दशकभन्दा बढी बित्यो, थामडाँडाको शहीद पार्कबारे अहिले कसैलाई चासो र चिन्ता छैन ।

सिद्धिचरण नगरपालिका–१२ मा रहेको वीरेन्द्र उद्यानमा एउटा स्मारक बनाउने कामभन्दा अरू केही भएनन् । हालै मात्र सांसद यज्ञराज सुनुवारको पहलमा सांसद विकास कोषबाट पटक पटक गरी रु ५० लाखभन्दा बढी खर्च गरेर सो उद्यान नजिकै स्रष्टा पार्क निर्माण गरिएको छ । 

सो उद्यानमा जिल्लामा जन्मिएका साहित्य र कलाका स्रष्टा प्रथम गायिका मेलवादेवी, युगकवि सिद्धिचरण श्रेष्ठ, गायक पाण्डव सुनुवार र राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको अर्धकदको शालिक राखिएको छ । “स्रष्टा पार्कको निर्माणले पूर्णता पाएको छैन”, उनले भने, “यसलाई पूर्ण बनाएर नमुना बनाउने मेरो लक्ष्य छ । यही नै अन्तिम होइन ।” स्रष्टा उद्यान बनाइए पनि यसको व्यवस्थापन छैन । शालिक राखिएका छन् तर कसको शालिक हो भन्ने नामसमेत छैन । 

स्रष्टा उद्यान र सिद्धिचरण उद्यानको गत जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य कार्यक्रम गरेर उद्घाटन गर्नुभएको थियो । स्रष्टा उद्यान निर्माणले पूर्णता नपाउँदा कतिपय पूर्वाधारमा क्षति पुग्न थालिसकेको छ । “व्यवस्थित गर्ने हो भने आन्तरिक तथा स्थानीय पर्यटक नै दिनमा एक डेढ सयको सङ्ख्यामा स्रष्टा उद्यान आसपास घुम्न आउँछन् ।” स्थानीय उमङ्ग श्रेष्ठले भने, “धेरै खर्च भइसक्यो भन्छन् तर आवश्यक पूर्वाधार अझै बनेको देखिन्न ।”

युगकवि सिद्धिचरणको जन्मस्थलमा रहेको सिद्धिचरण उद्यान बल्लतल्ल हेर्न लायक हुने क्रममा छ तर, सानो क्षेत्रफलमा सीमित भएकाले एउटा पूर्णकदको शालिकबाहेक अन्य संरचना विस्तार गर्ने ठाउँ छैन । उद्यानमा समेत सिद्धिचरण प्रतिष्ठान, नगरपालिका र अन्य सरकारी शीर्षकमा करोडभन्दा बढी लगानी भइसकेको छ । विगत चार वर्षयता सिद्धिचरण नगरपालिका ११ नं वडामा नगर उद्यान निर्माण सुरु भएको छ । बहु वर्षीय योजनामा गरी यस वर्षसहित रु ८५ लाखभन्दा बढी नगर उद्यानको संरचना निर्माणमा खर्च भइसकेको छ । १३ रोपनी क्षेत्रफलको उद्यान सम्पन्न हुँदा रु सात करोडभन्दा बढी खर्च हुने लक्ष्य राखिएको छ तर, यो उद्यानले पनि पूर्णता पाउने हो या होइन भन्न नसकिने अवस्थामा रहेको छ । 

गत वर्ष निर्माण गरेको लगलगे दृश्य अवलोकन केन्द्रमा क्षति पुगिसकेको छ । छानोसहितको संरचना भत्किएको भए पनि मर्मत र थप पूर्वाधार निर्माण गरेर पर्यटक आकर्षित गर्ने योजना नगरपालिकाले बनाएको छैन । नगरपालिकाको प्रवेशद्वार लगलगे नजिक सिमानामा निर्माण गरिएको नगरगेट पनि कुरुप लाग्दो छ । बनाई नसक्दै गेटको केही भाग चर्किएको छ । सिद्धिचरण नगरपालिकामा स्वागत गर्न बनाइएको गेट नै आकर्षक नभएको भन्ने टिप्पणी हुने गरेको छ । 

त्यस्तै सोलुखुम्बुको सिमानमा निर्माण गर्ने भनिएको नगरगेटको जग हालिएको एक वर्ष बितिसक्यो अहिलेसम्म काम अघि बढ्न सकेको छैन । रड ठड्याउनेबाहेक अरू काम अगाडि बढेको छैन । नगर क्षेत्रका अन्य पर्यटकीय गन्तव्यमा गरिएको पूर्वाधार विकास पनि दिगो नभएको स्थानीय बताउँछन् । “भ्यु टावर भत्किसक्यो , गेट हेर्दै घिन लग्दो छ । ओखलढुङ्गा पहिचान हो लेउ लागेर बसेको छ ।” नेपाली काँग्रेसका नेता डिल्ली खनालले भने, “नगरपालिकाले विकासलाई दिगो बनाउन सकेन । अहिलेका जनप्रतिनिधि मनलागी काम गर्छन् हामीलाई थाहासमेत दिँदैनन् ।” 

फोहर र अव्यवस्थित पार्किङले बजार अस्तव्यस्त: 

सिद्धिचरण नगरपालिका जिल्लाको सदरमुकाम र ठुलो बजार क्षेत्र भएको ठाउँ हो । सडक मार्ग भएर सोलुखुम्बु प्रवेश गर्ने मार्गका रूपमा पर्दछ । खोटाङको हलेसी पुगेर फर्केका पर्यटक सोलुखुम्बुको पत्ताले सम्म जान रुचाउँछन् । यसबिचमा पर्ने सिद्धिचरण नगरमा भने पर्यटकले रुचाउने वातावरण छैन । 

साँघुरो सडकमा जथाभावी गरिएको पार्किङ र सडक नै छेकेर राखिएको निर्माण सामग्रीले बजार क्षेत्र कुरुप बनेको छ । नगरपालिकाले बजारबाट सङ्कलन गरेको फोहर पनि नगर प्रवेशद्वार नजिकै यत्रतत्र फाल्ने गरिएका कारण लगलगे क्षेत्रमा दुर्गन्ध फैलिने गरेको छ । 

साँघुरो सडकमा दुईतर्फ मोटर गुड्ने अवस्था छैन । दुवैतर्फका सवारी आएको बेला लामो समय जाम हुन्छ । भिरालो सडकमा मानिसको आवागमन बढी हुने भएकाले दुर्घटनाको जोखिम पनि उत्तिकै छ । साथै साँघुरो सडकमा स्थानीयले घरको निर्माण सामग्री जताततै थुपार्दा साँघुरो र ठाडै ओरालो सडकमा पैदल यात्रुलाई जोगाउन मुस्किल हुने गरेको सवारी चालक सुवास खड्काले बताए । 

बजारमा पैदल यात्रीलाई सहज आवतजावत गर्ने बाटोसमेत छैन । सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले समस्या समाधान गर्ने काम भइरहेको बताए । विद्यार्थी विद्यालय जाने र फर्कने समयमा बढी पैदल यात्रुको चाप हुने भएकाले यो समयमा बजार क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई एकतर्फी गर्ने उनले जानकारी दिए । “नयाँ बजारदेखि रमाइलो डाँडासम्म सडक निर्माणको काम सकिए पछि बजार क्षेत्रमा सञ्चालन हुने सवारीलाई वान वे गर्ने निर्णय भएको छ ।” प्रमुख श्रेष्ठको भनाइँ छ  ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x