गभर्नर डा. नेपालद्वारा सिभिल बैंकको धार्चे शाखाको उद्घाटन

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरंजीबि नेपालले २०७६ माघ १७ गते एक समारोहका बिच गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैङ्क लिमिटेडको धार्चे शाखाको उद्घाटन गरेका छन् ।



उद्घाटनका अवसरमा गभर्नर डा. नेपालले मुलुकका सबै ठाउँमा बैङ्कको उपस्थिति विना सङ्घीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्‍याउने लक्ष्यलाई सहयोग पुग्ने गरी राष्ट्र बैङ्कले नीतिगत व्यवस्था गरेको जानकारी दिए । मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पुर्‍याउने राष्ट्र बैङ्कको नीतिगत अभियानमा सिभिल बैङ्कको धार्चे शाखाले अर्को इँटा थपेको उल्लेख गर्दै नेपालले भनेका छन् , “सिभिल बैङ्कले गोरखाको विकट ठाउँमा वित्तीय सेवा विस्तार गरेकोमा म एकदमै खुसी छु ।” यसरी ग्रामीण भेगमा बैङ्कको शाखा विस्तारले वित्तीय पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विचार गभर्नर डा. नेपालले राखे । “वित्तीय सेवाको पहुँच यसरी नै विस्तार हुँदै जाँदा त्यसले मुलुकको आर्थिक समृद्धिको दिशातर्फ उन्मुख गराउनेछ ” डा. नेपालको भनाइ रह्यो । 

उद्घाटन समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले धाचेर्ज जस्तो दुर्गम ठाउँमा सिभिल बैङ्कले शाखा स्थापना गरेकोमा खुसी व्यक्त गदै उक्त शाखाले धार्चे गाउँपालिकाका जनताको घरदैलोसम्म वित्तीय सेवा उपलब्ध गराइ स्थानीय जनतामा उद्यमशीलताको विकास र जीवनस्तर उकास्नमा महत्त्वपूर्ण योगदान गने विश्वास व्यक्त गरे ।

सो अवसरमा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैङ्किङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, गुरुङले ग्रामीण अर्थतन्त्र उकास्नका निम्ति कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउँदै ‘समृद्ध धार्चे’ को सपना साकार बनाउने लक्ष्यका साथ सहकार्य गरेर अघि बढ्ने उद्घोष गरे ।

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैङ्कका सञ्चालक रामजी रेग्मी, गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला, धार्चे गाउँपालिकाका प्रशासकीय अधिकृत विश्वविजय शर्मा लगायत स्थानीय राजनीतिकर्मी, उद्योगी, व्यवसायी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको विषय बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ । 

सिभिल बैङ्कमा हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरू आबद्ध छन् । यस बैकले रु.५२ अर्वभन्दा बढी निक्षेप परिचालन गरी रु.५० अर्व भन्दा बढी कर्जा लगानी गरेको छ । धार्चे शाखाको स्थापना सँगै सिभिल बैङ्कको गण्डकी प्रदेशमा १२ सहित नेपाल भर कुल शाखा सङ्ख्या १०३ पुगेको छ ।

गोरखाको बारपाकमा वित्तीय साक्षरता कार्यक्रम:

सिभिल बैङ्क लिमिटेडले गोरखाको सुलिकोट गाउँपालिकास्थित बारपाकमा २०७६ माघ १८ गते वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्‍यो । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरंजीबि नेपालको प्रमुख आतिथ्यमा बैङ्कले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा गभर्नर डा. नेपालले सिभिल बैङ्कले आफ्नो शाखा नै नभएको बारपाकमा समेत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिँदै उक्त कार्यक्रमले बारपाकका जनतामा बचत गर्ने बानी र उद्यमशीलताको विकास गरी जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैङ्क तथा वित्तीय संस्थाले आफ्नो ग्राहक तथा जन साधारणलाई उपलब्ध गराउने विभिन्न किसिमकाबचत, ऋण (कर्जा) तथा बैङ्किङ सेवा/सुविधाका बारेमा जानकारी दिए । नेपाल राष्ट्र बैङ्कका सञ्चालक रामजी रेग्मीले नागरिकमा औपचारिक साक्षरतासँगै वित्तीय साक्षरताको पनि आवश्यकता पर्नेमा जोड दिए । सो अवसरमा गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिलाले फजुल खर्चहरू घटाइ बचत गर्ने बानीको विकासले समृद्धितर्फ उन्मुख गराउने विचार व्यक्त गरे ।

कार्यक्रममा सुलिकोट गाउँपालिका वडा नं २ का अध्यक्ष लालबहादुर गुरुङले बारपाकमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिदिनुभएकोमा कृतज्ञता प्रकट गर्दै यस कार्यक्रमले बारपाकका जनतालाई वित्तीय सेवातर्फ आकर्षण बढाउने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x