हस्तकलाका सामग्री बनाउन रमाउँदै थारु महिला

ज्ञानमाण्डू।बाँकेका थारु महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । हस्तकला उद्योग स्थापना गरेर सङ्गठित भएका महिलाले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी राम्रो आयआर्जन गरेका हुन् । 

जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको पञ्चशील हस्तकला केन्द्रका अध्यक्षसमेत रहेका नेपालगञ्ज–९ बाँकेगाउँकी हस्तकला उद्यमी निरु चौधरीले जानकारी दिए । 

उनले भने , “थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।” उत्पादन गर्न लागेको समयका आधारमा सामानको मूल्य तोक्ने निर्धारण गर्ने जनाइएको छ । उनका अनुसार थारु महिलाले रु २० देखि रु ७०० सम्मको सामान उत्पादन गर्दै आएका छन् । पेनहोल्डर, गमला, हट्केस, ज्वेलरी, डस्टबिन, ट्रेलगायत सामान उत्पादन गरेर बजारमा पठाउँदै आएका छन् । 

थारु हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदुरी गर्ने बाध्यताबाट मुक्ति मिलेको नेपालगञ्ज–१२ की उद्यमी विद्या थारुले बताइन् । केही वर्ष अघिसम्म थोरै रकम जोड्न समस्या पाएका थारु महिलाले आफैँले उत्पादन गरेका सामग्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । थारु हस्तकला व्यवसायले हराउँदै गएको हस्तकलाको जगेर्नासमेत भएको उनले जानकारी दिइन् । 

थारु हस्तकला उत्पादनसम्बन्धी तीन महिने तालीम लिएर व्यवसाय सुरु गरेकी विद्याले भनिन्  , “एकातिर हराउँदै गएको थारु हस्तकलालाई जीवन्त राख्न र व्यवसायबाट राम्रो आम्दानी भएको छ ।” मासिक रु १०-१२ हजार आम्दानी र सामग्रीको खपतमा समेत समस्या नभएको जनाइएको छ । 

मागअनुसार सामग्री पुर्‍याउन नसकिएको पञ्चशील हस्तकला केन्द्रले जनाएको छ । माग बढ्दै गएपछि सामान पुर्‍याउन नसकिएको बताउँदै केन्द्रका अध्यक्ष निरुले आलोपालो गरेर सामान पुर्‍याउने गरिएको जानकारी दिइन् । मागअनुसार थारु हस्तकलाका सामान उत्पादन गर्न कठिन भएको नेपालगञ्ज–९, बाँकेगाउँकी आरती चौधरीले बताइन् । हस्तकलाको व्यवसाय सुरु नगर्दै फुर्सदिलो भए पनि अहिले फुर्सद मिलाउनै गाह्रो हुने गरेको उनको भनाइ छ । 

“टिभी हेरेर र साथी सङ्गीसँग गफगाफ गरेर दिन बित्थ्यो, तर अहिले एक छिन पनि फुर्सद हुँदैन”, उनको भनाइ छ । नेपालगञ्ज–९, खट्कनपूर्वाकी सरिता चौधरीले पनि थारु हस्तकलालाई व्यवसाय बनाएकी छिन् । उनले घरको काम धन्दा सकेर फुर्सदको समयमा थारु हस्तकलाका सामान बनाउने गरेको बताइन् । 

थारु महिलाले उत्पादन गरेका सामान नेपालगञ्ज, काठमाडौँ, पोखरा, बुटवल, अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा, डेनमार्कजस्ता देशमा जाने गरेका छन् । “केही विदेशमा गए पनि अधिकांश सामान काठमाडौँमै खपत हुन्छ”, पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरुले भने । घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उनले बताए । 

थारु महिलाले थारु हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेका छन् । यसले उत्पादन भएका सामानले बजार पाउने गरेको छ । “हामीले पहिले पनि थारु हस्तकलाका सामान बनाउँथ्यौँ, तर पछिल्लो समय बजारमा पाइने आधुनिक र चलन चल्तीमा रहेका प्लास्टिक, तामा, सिसाका भाँडाजस्तै डिजाइनमा बनाउन थालेका छौँ”, केन्द्रका अध्यक्ष निरुको भनाइ छ । 

उनका अनुसार थारु महिलाले उत्पादन गरेका सामान वातावरण मैत्री समेत छन् । सड्ने, गल्ने भएकाले देश, विदेशमा माग बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार देश, विदेशमा मात्र नभई मेला, महोत्सव र सहरमा हुने कार्यक्रममा पनि बिक्री हुने गरेको छ । नेपालगञ्जमा हुने कार्यक्रम र सभा, सम्मेलनका अतिथिलाई उपहार दिनका लागि पनि थारु हस्तकलाका सामान प्रयोग हुन थालेको छ । 

नेपालगञ्जका नागरिक समाजका अगुवा र उद्योगी, व्यापारीले थारु हस्तकलाको सामानलाई नेपालगञ्जको पहिचानको रूपमा स्थापित गर्ने अभियानमा छन् । “नेपालगञ्जमा उपहारका रूपमा थारु हस्तकलाका सामान दिने संस्कारको विकास भएको छ, हामीले थारु हस्तकलाका सामानलाई नेपालगञ्जको पहिचानका रूपमा स्थापित गर्ने अभियानमा छौँ”, नेपालगञ्जका व्यवसायी सञ्जय थापाको भनाइ छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x