‘मानवअधिकारको अवस्था सन्तोषजनक देखिएन’

ज्ञानमाण्डू।एमनेस्टी इन्टरनेशनल नेपालले सन् २०१९ मा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । एसिया प्रशान्त क्षेत्रमा सन् २०१९ मा मानवअधिकारको अवस्था विषयक प्रतिवेदनमा विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष बितिसक्दा पनि दशक लामो सशस्त्र द्वन्द्व कालका पीडितलाई सत्य, न्याय र परि पूरण उपलब्ध गराउने प्रतिबद्धता निरासलाग्दो भएको उल्लेख छ । 

द्वन्द्व कालमा सरकारी सुरक्षा निकाय र माओवादी सशस्त्र समूहबाट भएको मानवअधिकार उल्लङ्घन र ज्यादतीसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग उजुरीको गम्भीरतालाई ध्यानमा राखी नयाँ आयुक्त नियुक्त गर्न पनि सरकार विफल भएको प्रतिवेदनमा उल्लेख छ । तर अहिले दुवै आयोगमा पदाधिकारी नियुक्ति भइसकेका छन् । 

सङ्क्रमणकालीन न्यायका लागि सर्वोच्च अदालतले दिएको आदेश, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन हुन नसकेको प्रतिवेदनमा छ । प्रतिवेदनमा हरेक वर्ष हजारौँ नेपाली कामका लागि देश छाडी विदेश जाने गरेका तर ती आप्रवासी श्रमिकलाई शोषणपूर्ण भर्ना अभ्यासबाट संरक्षण प्रदान नगरिएको उल्लेख छ । 

चार वर्ष अगाडि सरकारले सम्भावित रोजगारी मुलुकमा जानका लागि आवश्यक प्रवेशाज्ञा र टिकट खर्च आप्रवासी श्रमिकले व्यहोर्न नपर्ने सुनिश्चित गर्न एउटा नीति घोषणा गरेको थियो । तर अहिलेसम्म पनि यो नीतिलाई राम्रोसँग लागू गर्न नसक्दा श्रमिक चर्को शुल्क तिरेर विदेश जान बाध्य हुनुपरेको उक्त प्रतिवेदनमा उल्लेख छ । 

सन् २०१९ मा नेपालमा विद्युतीय कारोबार ऐन २०६३ जस्ता कानुनलाई प्रयोग गरी पत्रकार र कलाकारलाई स्वेच्छाचारीरूपमा पक्राउ गर्न प्रयोग गरिएको र सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि थप बन्देज लगाउने खालका तीन नयाँ विधेयकमा मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सूचना प्रविधि विधेयक प्रस्ताव गरेको प्रतिवेदनमा भनिएको छ । 

प्रतिवेदनमा सरकारले राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रतालाई कमजोर पार्ने खालको संशोधन विधेयक पनि प्रस्ताव गरेको र मन्त्रिपरिषद्ले नागरिक समाज सङ्घसंस्थाको गतिविधिमा बन्देज लगाई ती माथि कडा अनुगमन गर्ने प्रावधानसहितको कानुनको पनि प्रस्ताव गरेको एमनेस्टी इन्टरनेशनल नेपालका निर्देशक नीराजन थपलियाले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x