चीनमा कोरोना भाइरसका ५७१ संक्रमित

ज्ञानमाण्डू।चीनमा कोरोना भाइरसको सङ्क्रमणका बिरामीको सङ्ख्या ५७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएका छन् । बुधवार साँझसम्म चीनका अधिकारीहरूले उक्त सङ्क्रमणबाट बिरामी हुनेहरूको सङ्ख्या ५७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । कोरोना भाइरस सङ्क्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशु बजारमा पनि कडा नियमन गरिएको छ । 

चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाइ गर्न निर्देशन दिइएको बताएको छ । यसका साथै मानिसहरूको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीहरूले जानकारी दिएका छन् । 

हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ । चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै १७ जनाको ज्यान गएको जानकारी दिएका छन् । मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ । यो सङ्क्रमणको सङ्ख्यामा करिब ५ हजार ९०० जनालाई उपचारार्थ भर्ना गरिएको थियो । 

यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । तर उनीहरूलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ । चीनको वुहानको जनसङ्ख्या झन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ । बुधवार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एक जना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको हो । 

त्यसै गरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका एक–एक जना भेटिएका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x