सफा र बुटिक विमानस्थल

ज्ञानमाण्डू।गत बिहीबार थाइल्याण्डबाट आउनुभएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेरे । ठुलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैँडामा उनको आँखा पुग्यो । “बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो”, उनले भने । “किन ?”, सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोधे । उनको जवाफ थियो, “हाम्रो देश नेपाल र हाम्रो संस्कार र सम्पदा झल्किने मूर्ति र वस्तुहरू देखियो, आफ्नै देश आएको महसुस भयो ।” 

“आगमन कक्षको अगाडि राखिएको गैँडाको मूर्ति चितवनको सौराहा पार्कमा नै देखेजस्तो लाग्यो । अनि अलि परको गौतम बुद्धको मूर्तिले लुम्बिनी पुगेजस्तै भयो”, नेपाली यात्रु यसै भन्दै थिए, विदेशीहरू फोटो खिच्न खोज्दै थिए । भित्र आउँदै गर्दा कतै गरुडको मूर्ति छ भने भित्तामा नेपालको बहु जाति, बहु संस्कृति र बहु धार्मिक परम्परा झल्किने विभिन्न प्रकारका मूर्ति र कलाकारिता देखिन्छन् । 

अर्का एक जना यात्रु , “मलाई त इन्डोनेशियाको बाली विमानस्थलको याद आयो । त्यहाँ पनि हिन्दु धर्मका साथै त्यहाँको बहु सांस्कृतिक अवस्थिति झल्किने विभिन्न मूर्ति तथा कलाकारिता राखिएका छन् ,” भन्दै थिए। इन्डोनेशियाको बाली प्रान्तमा कम्तीमा ८० प्रतिशत हिन्दु धर्मावलम्बी नागरिकको बस्ती छ । त्यहाँको विमानस्थलमा पनि स्थानीय परम्परा र सम्पदाहरू झल्किने दृश्यहरू सजाइएको छ । 

नेपालका केही प्रमुख पर्यटकीय स्थलको पहिचान दिने गरी अरू केही तस्बिर विमानस्थलमा राखिएका छन् । यहाँका तस्बिरले विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालको हिमालय क्षेत्रको सम्पन्नताको परिचय दिन्छ । त्यस्तै यहाँका दृश्य र तस्बिरहरूले पोखरा, मुस्ताङ र यस्तै अन्य विश्वकै प्रमुख पर्यटन गन्तव्यको पनि यहाँबाट सामान्य परिचय दिने यत्न गरेका छन् । 

केही समयअघि नेपाल सरकारले घोषणा गरेको थियो ‘बुटिक एयरपोर्ट’ को अवधारणा । यही अवधारणाबमोजिम नै विमानस्थल प्रशासनले पनि यस्तो बुटिक विशेषताको प्रयास गरिरहेको छ । कुनै पनि विदेशी नागरिक नेपाल छिरेपछि यहाँको विविधताको बारेमा प्रवेशद्वारबाटै थाहा पाओस् भन्ने प्रयत्न हो यो भन्छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण ।

नेपालले यस वर्ष नेपाल भ्रमण वर्ष मनाइरहेकोले नेपाल आउने पर्यटकलाई नेपालबारेको जानकारी जति सकिन्छ प्रवेशद्वारबाटै प्रदान गरौँ भन्ने प्रयास गरिएको उनले बताए । विमानस्थललाई बुटिक बनाउने मात्र नभई यहाँको सरसफाइ, सुरक्षा, सहयोग, यात्रुहरूलाई आवश्यक पर्ने पूर्वाधारहरूको निर्माण र विकास तथा सूचनाजस्ता कार्यका लागि विमानस्थल प्रशासनले सक्दो प्रयास गरेको उनले जानकारी दिए । 

विमानस्थलको आगमन कक्षमा सुनको जलप हालिएको ११ फिट अग्लो र करिब एक टन तौल भएको बुद्ध मूर्ति राखिएको छ । त्यस्तै गरुड र अन्य देवी देवताका मूर्ति छन् । गैँडाको मूर्ति सौराहाको झलक नै दिने गरी पार्क बनाएर राखिएको छ । यी संरचना विदेशी पर्यटकका लागि आकर्षण बनेका छन् । 

विमानस्थलको अर्को आकर्षण सरसफाइ पनि हो । यहाँको सरसफाइका लागि विमानस्थलले इनोभेटिभ एचआर जेभीलाई जिम्मा दिएको छ । उसले दुई वर्षभन्दा अघिदेखि विमानस्थलको सरसफाइको काम गरिरहेको छ । करिब डेढ वर्ष अघि गैर आवासीय नेपाली सङ्घको सहयोगमा खेम्स क्लिनिङले स्वयंसेवी रूपमा केही समय विमानस्थल सफाइ गरेर चर्चा पाएको थियो । त्यस समय पनि विमानस्थलको सफाइमा इनोभेटिभले सफाइ मजदुर र काममा सहयोग गरेको थियो । 

उक्त कम्पनीले विदेशी प्रविधि र मापदण्डको आधारमा सफाइको काम गर्दै आएको सोलुसनका प्रमुख रोहिणी भट्टराई बताउँछन् । “हामीले सफाइ कर्मचारीहरूलाई समय समयमा विदेशी मापदण्ड र प्रविधिको तालिम दिई त्यस्तै उपकरणका साथ काम गरिरहेका छौँ, हर समय सफाइको गुणस्तर बढाउँदै लगेका छौँ”, उनको भनाइ छ । 

हाल सफाइका लागि उक्त कम्पनीका १६० कर्मचारी खटिरहेका छन् र ‘सिफ्ट’ अनुसार चौबिसै घण्टा काम गर्ने गर्छन् । “कुनै पनि विदेशीले नेपाल टेक्ने पहिलो पाइला भनेको विमानस्थल नै हो । त्यसैले प्रवेशद्वारबाट नै विदेशीहरूमा हाम्रो देशप्रतिको राम्रो छाप परोस् भनेर हामी आफैँ काममा खटिएका छौँ र हामीले पाइरहेको सफलता र प्रशंसालाई घट्न दिएका छैनौँ”, उनी भन्छन् । 

बुटिकका रूपमा गरिएको विमानस्थलको विकास र सरसफाइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यति बेला स्वरूप फेरिएको छ । भुईँ, चर्पी, स्नान कक्ष, भित्ताहरू र कुर्सी सफा छन्, सफाइलाई विशेष ध्यान दिइएको छ । विमानस्थलको सफाइमा खटिरहेका कर्मचारी सफाइसम्बन्धी अन्तर्राष्ट्रियस्तरका प्रविधि र मापदण्ड प्रयोग गरिएको भन्दै हाल उपलब्ध प्रविधि र जनशक्तिले विमानस्थलको अवस्था राम्रो राख्न सफल भएको बताउँछन् । 

नेपाल आउने पर्यटकको पहिलो दृष्टि यहाँको सरसफाइमा पर्छ, देशको मुख्य प्रवेशद्वार विमानस्थल सफा भए मात्र अन्तर्राष्ट्रिय रूपमा देशको छवि सुन्दर र राम्रो बन्नेछ । त्यसैले विमानस्थल मात्र होइन कि पर्यटन वर्ष मनाइरहेका हामीले होटेल, पार्क, पर्यटकीय स्थल तथा अन्य पूर्वाधार र संरचनाहरूलाई पनि सफा र सुन्दर बनाउनु र राख्नु जरुरी छ । 

नेपालले यस वर्ष कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाइरहेको छ । यसका लागि आवश्यक सेवा क्षेत्रको पूर्वाधार र अन्यत्र सरकारले सकेसम्म संरचना निर्माण गरिरहेको छ । त्यसैले अहिले नै विमानस्थलको जस्तै बुटिक र सफाइको अवधारणालाई पनि सबैतिर विस्तार गर्न सके पर्यटन वर्ष मनाइरहेको पर्यटन क्षेत्रले केही नयाँ उपलब्धि हासिल गर्नेछ । 

अर्को महत्त्वपूर्ण पक्ष भनेको सुरक्षाको प्रबन्ध पनि भएकाले यसलाई विमानस्थलले नयाँ व्यवस्थाका साथ अघि बढाएको प्रवक्ता कर्ण बताउँछन् । सुरक्षामा कडाइ तथा यात्रुको सुविधालाई समेत ध्यानमा राखी सुरक्षा जाँचमा नयाँ व्यवस्था गरेको उनको भनाइ छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x