ऐतिहासिक ‘लक्ष्मीनारायण मन्दिर’ प्रवद्र्धनको पर्खाइमा

ज्ञानमाण्डू।रामपुर र आसपासको इतिहासको साक्षीजस्तै रहेको ‘लक्ष्मीनारायण मन्दिर’ को उचित प्रसार प्रचार नहुँदा ओझेलमा परेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको किनारामा अवस्थित ऐतिहासिक सो मन्दिरमा त्रेता युगमा रामचन्द्र बसेको किंवदन्ती यहाँ रही आएको छ । यो मन्दिर पाल्पा जिल्लाका अति प्राचीन तथा ऐतिहासिक मन्दिर भित्र पर्दछ । 

विसं १८७० तिर स्थानीय तुल्सीराम रेग्मीलाई श्रीरामले सपनामा ‘राम घाट क्षेत्रमा लक्ष्मीनारायणको मन्दिर स्थापना गरी पूजा गर्नु’ भन्नुभएछ । यसपछि रेग्मीले विसं १८८९ मा मन्दिर स्थापना गर्नुभएको यहाँका बुढापाका बताउँछन्। 

राम घाट क्षेत्र पौराणिक कालदेखि नै पवित्र धार्मिक तीर्थस्थलको रूपमा परिचित छ । रामचन्द्रले त्रेता युगमा बन वासको क्रममा राम घाटमा स्नान गरेको, ऋषिमुनि बोलाइ यज्ञ गरेको तथा नजिकैको राम गुफामा बसोबास गरेको आधारमा यस क्षेत्रलाई पवित्र तपोभूमिका मानिन्छ । द्वापर युगमा पाण्डवहरु पनि यही ठाउँमा स्नान गरेको, शुक्ल गण्डकीको पानी कृष्णा गण्डकीको राम घाटमा ल्याउन तनहुँको भीमादमा बाँध बाँधेको र शिवजीको वाणको सहयोगबाट जल आउने गरेको पुराणमा उल्लेख पाइन्छ । 

पौराणिक कालदेखि तीर्थालु आई स्नान तथा यज्ञादी गर्दै आएता भनिएतापनि करिब २०० वर्ष अगाडि लक्ष्मीनारायणको मन्दिर बनाई गुठी राखिएको यहाँ रहेको विसं १८८९ को सनतबाट पुष्टि हुन्छ । विस २०७२ विनाशकारी भूकम्पले मन्दिरलाई क्षति ग्रस्त बनाएको थियो ।

ऐतिहासिकताक र धार्मिक महत्त्वलाई उजागर गर्ने गरी पुनः निर्माण बढाइएको छ । लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले पुरानै शैलीमा लक्ष्मीनारायणको मन्दिर पुन निर्माण अगाडि बढाइएको जानकारी दिए । उनी भन्छन्, “रामपुरको चिनारीका रूपमा रहेको पुरानो जीर्ण मन्दिरलाई पुरानै कलात्मकशैलीमा निर्माण गरिएको छ, यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय नगरीका रूपमा विकास गराउन विभिन्न भौतिक संरचना निर्माणका काम भइरहेका छन् ।” 

रामपुर नगरपालिकाले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय स्थलमा समावेश गरेको छ । कालीगण्डकीको तट, कालीगण्डकीको कोरिडोर नजिकै रहेकाले पनि यहाँ चहलपहल बढाएको छ । मन्दिरसम्म पुग्ने सडक सुविधा भएपछि यहाँ आउनेको आकर्षण बढ्दो छ । विशेषतः शनिवार र सार्वजनिक बिदामा यहाँ आउने पर्यटक कालीगण्डकी, रामघाटको रमाइलो दृश्यसँग लोभिएका छन् । रामनवमी, कृष्णाजन्माष्टी, अक्षय तृतीया पर्व र नयाँ वर्षका दिन विशेष मेला लाग्दै आइरहेको छ । 

कालीगण्डकीमा स्नान गरी नदीको पवित्र जल लक्ष्मीनारायण मन्दिरमा चढाएर रामपुर नगरपालिका ३ र ४ मा पर्ने सीता कुण्डमा पुगेर जल मिसाएर पूजाआजा गरी पुनः यही आएर पूजा गर्ने चलन रहेको मन्दिर व्यवस्थापन समितिका सदस्य मिनराज रेग्मीले जानकारी दिए । कालीगण्डकीवेशीकै धार्मिक महत्त्वको यहाँको पौराणिक महत्त्वलाई जोगाउन पूर्वाधार निर्माण अघि बढाइएको छ । 

मन्दिर सञ्चालनका लागि रामपुर नगरपालिका वडा नं ४ र ५ मा करिब दर्ता भएको एक हजार रोपनी र दर्ता नभएको एक हजार १०० रोपनी गुठी जग्गा छ । रामपुर नगरपालिका–४ खोप्टारमा करिब १० रोपनी जग्गा पर्खालले घेरिएको र हाल जर्णि अवस्थामा रहेको धर्मशाला पार्टी भवन छ । 

सामाजिक हितका राखिएको यो गुठीमार्फत स्थापना कालदेखि नै दैनिक पूजाआजा तथा व्यवस्थापन रेग्मी परिवारबाट गरिँदै आएको छ । मन्दिरको अवस्था नाजुक बन्दै गएपछि विसं २०७४ देखि दश वर्षे गुरुयोजना तयार पारिएको छ । प्रवेशद्वार, धार्मिक बस्ती, सानो गौशाला, सुन्दर प्रतीक्षालय, त्रिदेव मन्दिर, विवाह मण्डप, योग गृह, ज्येष्ठ नागरिक स्याहार केन्द्र, सभा हल, अथिति गृह, किरियाघर, पानीको ट्याङ्की, वनभोज स्थल, गुरुकुल शिक्षाको सुरुवात, शौचालय र भान्सा घर निर्माण गर्ने गुरुयोजनामा समेटिएको छ । 

त्यस्तै पुरानो लक्ष्मी नारायणको मन्दिर, मन्दिर प्रवेशद्वार, पुरानो पौवा, पानीको फोहरासहित शालिकराम स्तम्भ, पानीको ट्याङ्की, दुई कोठे आरसिसी धर्माश्रम, १०८ पिपलका बगैँचा, फलफूलका बगैँचा, नदीको किनारमा रहेको प्रतीक्षालय, मन्दिर परिसरभित्र रहेको पुजारी बस्ने र साधु सन्त बस्ने दुई वटा घर, मन्दिर परिसरको पर्खाल र चौतारी आदि निर्माण गरी संरक्षण गर्न थालिएको छ । 

एकएक वटा पुजारी र महन्त निवास, शालिकराम स्तम्भ निर्माण, शौचालय, धर्मआश्रम, पानी ट्याङ्की निर्माणको काम सम्पन्न भएको भइसकेको छ । यस क्षेत्रको विकासका लागि सामूहिकका साथै व्यक्तिगत प्रयास पनि बढेका छन् । रामपुर नगरपालिका–८ का कृष्णप्रसाद पौडेलको रु तीन लाख र संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीबाट रु ४२ हजारमा मूल प्रवेशद्वार, र वडा नं ५ बस्ने टीकाराम मल्लबाट रु एक लाख ५० हजार सहयोगमा मन्दिर प्रवेशद्वार निर्माण गरिएको छ । 

प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको राम घाट क्षेत्रलाई वडा र नगरले धार्मिक तथा पर्यटकीय विकासमा जोड दिएको रामपुर नगरपालिका–५ का अध्यक्ष हिमाल मल्ल बताउँछन् । “रामपुरकै पहिचानका रूपमा रहेको राम घाट र यहाँ रहेको लक्ष्मीनारायण मन्दिरको महत्त्व उच्च रहेको छ, यो क्षेत्र धार्मिक नगरिका रूपमा विकास गराएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजनाका साथ लागेका छौँ”, उनको भनाइ रह्यो ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x