ज्ञानमाण्डू।भूकम्पका कारण घरविहीन बनेका खोटाङका पाँच हजार ९९७ लाभग्राहीले तेस्रो किस्ता पाएका छन् । पहिलो किस्ता लिने आठ हजार ३३२ लाभग्राहीमध्ये सात हजार ३९६ लाभग्राहीले दोस्रो किस्ता बुझेका हुन् । 
दश स्थानीय तह रहेको जिल्लामा पुनः निर्माणतर्फका आठ हजार ४६२ र प्रबलीकरणतर्फका ३६१ परिवार गरी कूल आठ हजार ८२३ लाभग्राही रहेका छन् । पुनः निर्माणको काम सुरु हुनु अगावै घर बनाएका ३५७ भूकम्प पीडितले एकमुष्ट रु तीन लाख अनुदान पाएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्यायले बताए । 
राष्ट्रिय पुनः निर्माण प्राधिकरण स्थापना भएको चार वर्ष पुगेको अवसरमा कार्यालयले दिक्तेलमा भएको अन्तर्क्रियामा आयोजना गरेको थियो । विसं २०७४ वैशाख ३ गतेदेखि सम्झौता सुरु गरेको पुनः निर्माण प्राधिकरणले विसं २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता वितरण थालेको थियो । 
भूकम्प गएको चार वर्ष बितिसक्दा समेत खोटाङमा पुनः निर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको अन्तर्क्रियामा जानकारी दिइएको थियो । पहिलो किस्ताबापत रु ५० हजार रकम बुझेर अझै आवास निर्माणको काम सुरु नगर्ने लाभग्राहीको सङ्ख्या पनि उत्तिकै मात्रामा रहेको जनाइएको छ ।रासस 
 
         
             
     
    
 
     
     
    
 
                                                         
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                     
                                                                                                                     
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            