‘एक छोरी एक खाता’ कार्यक्रम अन्तरगत दुई वर्षमा ३२६ छोरीका खाता


ज्ञानमाण्डू।मुगुको एक मात्र छायानाथ रारा नगरपालिकाले छोरीलाई शिक्षामा पहुँच पुर्‍याउन सुरु गरेको ‘एक छोरी एक खाता’ कार्यक्रममा गत आर्थिक वर्षसम्म ३२६ जना छोरी सहभागी भएका छन् । 

नगरपालिकाले आर्थिक अभावमा विद्यालयमा बालिकालाई चाहिने किताब, कापीलगायत आवश्यक पर्ने अन्य स्टेशनरी सामान किन्न र विद्यालय पठाउन सहज होस भनेर आव २०७४/०७५ बाट एक छोरी एक खाता कार्यक्रम सुरु गरेको थियो । 

पहिलो नगर सभाबाट एक छोरी एक खाता सञ्चालन कार्यविधि पारित गर्दै नगर क्षेत्रमा जन्मने छोरीको वित्तीय संस्थामा खाता खोल्ने, सो खातामा नगरपालिकाले पाँच वर्षेसम्म नियमित रकम जम्मा गरिदिने र पाँच वर्षपछि विद्यालय भर्ना भएको भर्ना अभिलेख ल्याएमा उक्त खातामा रहेको रकम मासिकरुपमा झिक्न मिल्ने प्रावधानसहितको कार्यविधि पास गरेको थियो । 

नगर क्षेत्रमा छोराभन्दा छोरीको विद्यालय बिचैमा छोड्ने दर बढी देखिएको छ । विद्यालय छाड्नुमा आर्थिक अभावले कापी, कलम, पोसाक, अन्य खर्च गर्न नसक्नु र त्यसको पीडित छोरी हुने गरेकोले कार्यक्रम मार्फत छोरीको शिक्षामा पहुँच पुर्‍याउन नगरपालिकाले यो अभियान सुरु गरेको नगरप्रमुख हरिजंग शाहीले बताए । 

नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको छायानाथ साकोससँग छोरीको खाता खोल्न सम्झौता गरेको छ । सहकारीले पाँच वर्षको अवधिमा बचत खाता खोलिदिने र नगरपालिकाले जम्मा गरिदिएको रकममा वार्षिक १३ प्रतिशत व्याज दिने गरेको छायानाथ सहकारीका व्यवस्थापक हरिबहादुर शाहीले जनाए  । 

वडा कार्यालयको सिफारिस र जन्म दर्ताको प्रतिलिपिसहित नगरपालिकाको महिला तथा बालबालिका शाखामा खाता खोल्न छोरीका अभिभावकले छोरी जन्मेको ३५ दिनभित्र सम्पर्क गर्नुपर्छ । वर्षभरिमा जम्मा भएका छोरीको निवेदनलाई नगर सभाले छुटाएको बजेट दामासाहीका दरले भाग गरी सहकारीमा आर्थिक वर्षको अन्तमा खाता खोल्ने गरिएको छ । 

आव २०७४/०७५ मा नगर सभाले रु पाँच लाख रकम छुट्ट्याएको र त्यो बेला १९४ छोरीका खाता खोलिएको थियो । सो समयमा प्रति खाता दुई हजार ५८० का दरले रकम जम्मा भएको र आव २०७५/०७६ मा नगर सभाले एक छोरी एक खातालाई चार लाख छुट्ट्याएकाले सो रकम आवेदन दिएका १३२ छोरीलाई भाग गर्दा प्रति छोरीको खातामा तीन हजार ३० रुपैयाँ जम्मा भएको नगरपालिकाका लेखापाल जगतजंग रावलले उल्लेख गरे  । 

पहिलो नगर सभामा अनुभव नभएकाले कार्यविधिमा धेरै कुरा छुटेको अहिले महसुस भएकाले आगामी छैटौँ नगर सभामा छोरीलाई दामासाही भागभन्दा नियमित र नयाँ गरी दुई शीर्षकमा रकम विनियोजित गर्ने र मासिकरुपमा नियमित रकम जम्मा गर्ने व्यवस्था मिलाउने नगर प्रमुख शाहीले प्रतिबद्धता जनाए  । चालू आवमा नगरपालिकाले एक छोरी एक खाताका लागि रु पाँच लाख रकम विनियोजन गरेको छ । 

कर्णाली प्रदेशभरिमै छोरीका लागि खाताको व्यवस्था गर्ने यो नै पहिलो स्थानीय तह हो । यही नगरपालिकाको सिको गर्दै कर्णाली प्रदेश सरकारले पनि यो आवबाट बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रम सुरु गरेको छ । कर्णाली प्रदेशले यो आवबाट सो प्रदेशमा जन्मने छोरीलाई बैङ्कमा खाता खोलिदिने र उक्त खातामा मासिक सरकारले रु ५०० जम्मा गरिदिने भएको छ । यो कार्यक्रमका लागि प्रदेश सरकारले रु तीन करोड ८४ लाख रकम विनियोजित गरेको र मुगु जिल्लामा रहेका चार स्थानीय तहका लागि प्रति स्थानीय तह तीन लाखका दरले १२ लाख छुट्ट्याएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x