रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ– उपाध्यक्ष ढकाल

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको सङ्ख्यामा कमी भइरहेको महसुस यस क्षेत्रले गरेको जनाएका छन्।

आज राजधानीमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले– औद्योगिक सम्बन्धका मुख्य पक्षहरू रोजगारदाता र ट्रेड युनियनको सोचाई र व्यवहारमा सकारात्मक परिवर्तनले नै श्रम तथा औद्योगिक सम्बन्ध बलियो र दिगो बनाउन सक्ने बताए।

उनले यस किसिमको सोचले देशमा औद्योगिक प्रवर्द्धन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने भन्दै यस सम्बन्धलाई थप बलियो र भरपर्दो बनाउन अझै थप सहकार्य गर्नुपर्ने विषयमा जोड दिए । उनले रोजगारदाता र ट्रेड युनियनहरूले आर्थिक एवं सामाजिक विकासका सहयात्री र साझेदारको रूपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका र आफूहरूले पनि यही रूपमा व्यवहार गरिरहेको उल्लेख गरे ।
उपाध्यक्ष ढकालले श्रम ऐन र सामाजिक सुरक्षा ऐन निर्माण गर्न रोजगारदाता र ट्रेड युनियनहरूले लामो समय सहकार्य गरेको स्मरण गर्दै हाल यी, महत्त्वपूर्ण कानुनको कार्यान्वयनको चरणमा रहेको बताए।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको क्रममा केही व्यवहारिक जटिलता देखिए पनि एकले अर्कोलाई दोष दिएर नभई व्यवहारिक ढङ्गले सहमति र सहकार्य गर्दै अघि वढनुपर्ने उपाध्यक्ष ढकालले जनाए ।

उपाध्यक्ष ढकालले, श्रम सम्बन्ध विभिन्न आरोह अवरोह पार गर्दै हालको अवस्थामा आई पुगेको र विगतको असहज परिस्थिति र अप्ठेरोहरू पनि हामीले भोगेकोले आगामी दिनहरूलाई सहज बनाउँदै लैजानुपर्ने पनि उल्लेख गरे  ।

आफूहरू असल श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गर्ने उद्देश्यका साथ निरन्तर सहकार्य गर्दै आएको उपाध्यक्ष ढकालले बताए । उनले श्रम सम्बन्धलाई अझ प्रगाढ बनाउन कहाँ र कस्तो कानुनी र नीतिगत सुधार आवश्यक रहेको तथा  हामी सँगै अघि बढ्न तयार रहेको जनाए ।

साथै ढकालले भरपर्दो श्रम सम्बन्ध विकासका लागि आवश्यक कानुन र नीतिमा सुधार गर्ने काममा आफूहरू लागि परेको पनि बताए । विगतमा भएको सहमति र सहकार्यलाई मुलुकको औद्योगिक क्षेत्रले नबिर्सेको उनको भनाई रह्यो। 

उनका अनुसार, परिवर्तनलाई आत्मसाथ गर्न सजिलो हुँदैन, मुलुकमा थप लगानी आकर्षण गरी स्वदेशमै बढी भन्दा बढीलाई रोजगारीका अवसर प्रदान गर्नुपर्छ भन्ने मान्यता राखी काम गरिरहेका उनले बताए। यसमा ट्रेड युनियनको तर्फबाट रचनात्मक एवं जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरेको कुरा यस प्रेस विज्ञप्तिद्वारा जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x