६ वटै महानगरपालिकाहरूको बजेट सार्वजनिक,कुन महानगरको बजेट कति ? कस्ता कार्यक्रमलाई प्राथमिकता ?

ज्ञानमाण्डू।मङ्गलवार देशका ६ वटै महानगरपालिका, उपमहानगरपालिका,नगर तथा गाउँपालिका लगायतका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । वीरगन्ज महानगरपालिकाले सोमबार नै बजेट सार्वजनिक गरेको थियो भने अन्य ५ महानगरपालिकाले मङ्गलवार आआफ्नो नगरसभामा बजेट प्रस्तुत गरेका छन् । 

काठमाडौँ र ललितपुरसहित देशका विभिन्न ६ ओटा महानगरपालिकाहरूको कूल बजेट ४० अर्ब ६६ करोड ९४ लाख पुगेको छ । चालु आव २०७५/७६ मा महानगरपालिकाहरूले कूल ३७ अर्ब ४६ करोड २५ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेका छन् ।चालू आवको तुलनामा आगामी आर्थिक वर्षमा महानगरपालिकाहरूको बजेटमा सामान्य वृद्धि भएको छ । कुल बजेटमध्ये आगामी आवमा ५.५६ प्रतिशत मात्र बढी रकम खर्च गर्ने गरी ६ वटै महानगरपालिकाले बजेट प्रस्तुत गरेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहहरूले १० असारभित्र आगामी आवका लागि बजेट आफ्नो गाउँ तथा नगरसभामा प्रस्तुत गरिसक्नु पर्नेछ ।

आगामी आवका लागि ६ महानगरमध्ये काठमाडौँले सबैभन्दा बढी रू. १५ अर्ब ५० करोड ७० लाख १२ हजारको बजेट भित्राएको छ भने भरतपुरले सबैभन्दा कम रू. ३ अर्ब ३७ करोड ३१ लाख १७ हजारको बजेट भित्राएको छ ।



काठमाडौँ महानगरपालिका:
काठमाडौँ महानगरपालिकाले चालू आवको तुलनामा आगामी आवको बजेट १६.03 प्रतिशतले बढाएर ल्याएको छ ।सार्वजनिक बजेटमा सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाको रहेको छ। काठमाडौँले आगामी वर्षका लागि १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ। काठमाडौँले आन्तरिक स्रोतबाट ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाह्य स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख आय हुने अनुमान गरेको छ। 

काठमाडौँ महागरपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । काठमाडौँले भौतिक पूर्वाधारका कार्यक्रममा ४ अर्ब ३१ करोड र सामाजिक विकासमा १ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ । पर्यटन तथा सम्पदा संरक्षण पनि काठमाडौँको प्राथमिकतामा रहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ करोड रुपैयाँ छुट्ट्याइएको छ । 

बजेटको व्ययतर्फ पुँजीगत खर्च एक अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक र सुविधा खर्च एक अर्ब ४१  करोड ५ लाख, कार्यालय सञ्चालन खर्च  ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च सात अर्ब ४३ करोड ९७ लाख ९२ हजार, सशर्त अनुदानबाट पुँजीगत खर्च तीन अर्ब ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनातर्फ एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ । 

पोखरा महानगरपालिका:
पोखरा महानगरपालिकाले चालू आवको तुलनामा आगामी आवको बजेट ६.६९ प्रतिशतले बढाएर ल्याएको छ ।पोखरा महानगरपालिककाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५४ लाखको बजेट ल्याएको छ। महानगरले सङ्घीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख, प्रदेशबाट सरकारबाट ४७ करोड ९६ लाख र आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख रुपैयाँ अनुमान गरेको छ ।पोखराले १ अर्ब ६९ करोड रुपैयाँ आन्तरिक आयबाट प्राप्त हुने बाँकी अनुदान र ऋणबाट जुटाउने प्रक्षेपण गरेको छ। महानगरले अघिल्लो वर्षको बजेटबाट खर्च हुन बाकि रहेको २२ करोड पनि आगामी आर्थिक वर्षमा खर्च गर्ने जनाएको छ ।

बजेटले महानगरको पूर्वाधार, कनेक्टिङ सडक, भवन निर्माण, खाने पानी, ताल संरक्षण, स्मार्ट सिटी, आकाशे पुल, पातलेछागोंमा सिसाको पुल लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।महानगरले संस्थागत क्षमतामा विकास गरी सुशासन प्रवर्द्धन गर्ने, आन्तरिक श्रोतको अधिकतम परिचालन गर्ने, आर्थिक भौतिक सामाजिक पूर्वाधार विकास गर्ने, पर्यटन क्षेत्रको विकास, स्वच्छ शिक्षा पूर्वाधारमा विकास, कृषि क्षेत्रको आधुनिकीकरण प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । 

वीरगन्ज महानगरपालिका:
वीरगन्ज महानगरपालिकाले चालू आवको तुलनामा आगामी आवको बजेट १६.२२ प्रतिशतले घटाएर ल्याएको छ ।वीरगन्ज महानगरपालिककाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४८ करोड १३ लाखको बजेट ल्याएको छ। अनुमानित खर्चको स्रोतमध्ये सङ्घीय सरकारको वित्तीय समानीकरणबाट ४४ करोड १४ लाख, राजस्व बाँडफाँटबाट २६ करोड ७४ लाख, सशर्त अनुदानबाट ६१ करोड २३ लाख प्राप्त हुने अनुमान छ । त्यसै गरी, प्रदेश सरकारबाट वित्तीय समानीकरणबापत एक करोड १५ लाख, सशर्त अनुदानबाट तीन करोड प्राप्त हुने, राजस्व बाँडफाँटतर्फ सवारीसाधनबाट तीन करोड १४ लाख, घरजग्गा रजिस्ट्रेसनबाट ६ करोड, सरसफाइ सेवा शुल्कबाट एक करोड ५५ लाख १८ हजार प्राप्त हुने अनुमान छ । 

बजेटमा सडक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । यस्तै, आधारभूत तथा माध्यमिक शिक्षा, त्यसको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य, खोप र पोषण, स्वच्छ खाने पानी, ढल तथा सरसफाइमा पनि जोड दिइएको छ । कृषि, सिँचाइ, पशुपालन र पर्यटन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन र सेवा प्रवाह, अधुरा आयोजनाहरूको कार्यान्वयन, युवा तथा खेलकुदको विकासमा पनि नगरपालिकाले बजेट विनियोजन गरेको छ । 
प्रस्तुत बजेटमा चालूतर्फ एक अर्ब ३८ करोड २४ लाख ३७ हजार, पुँजीगततर्फ तीन अर्ब तीन करोड ८९ लाख ११ हजार र वित्तीय व्यवस्थातर्फ ६ करोड खर्च हुने अनुमान गरेको छ । 

विराटनगर महानगरपालिका:
विराटनगर महानगरपालिकाले चालू आवको तुलनामा आगामी आवको बजेट ७.१३ प्रतिशतले बढाएर ल्याएको छ ।विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १२ करोड ३० लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । महानगरको आन्तरिक स्रोतबाट ५९ करोड ९८ लाख १५ हजारको अनुमान गरिएको छ । राजस्व बाँडफाँड ७२ करोड ५९ लाख ४३ हजार, सङ्घीय र प्रदेश वित्तीय समानीकरण अनुदान ४७ करोड ८४ लाख ७० हजार, विषयगत कार्यालयतर्फ सशर्त अनुदान ५८ करोड ८९ लाख, समपूरक र विशेष अनुदान १२ करोड ५० लाख, सङ्घीय सरकार सशर्त अनुदानतर्फ ३९ करोड ५० लाख अनुमान गरिएको छ । त्यस्तै महानगरले वैदेशिक ऋण र अन्य अनुदानतर्फ २ करोड ३२ लाख ४० हजार बजेट अनुमान गरेको छ ।

महानगरको वार्षिक अनुमानित बजेट ३ अर्ब २९ करोड ४९ लाख १२ हजार ५ सय र मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय सहरी विकास परियोजनाका १ अर्ब ८२ करोड ८१ लाख ७८ हजार बजेट छ ।महानगरले भौतिक पूर्वाधार विकासतर्फ २ अर्ब ५ करोड ३९ लाख र प्रशासनिक खर्चतर्फ ६४ करोड ९२ लाख ७ हजार प्रशासनिक खर्च अनुमान गरेको छ ।कृषि तथा पशुपन्छी कार्यक्रमका लागि ११ करोड ८३ लाख, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य कार्यक्रमका लागि १२ करोड ९५ लाख र सामाजिक विकास, महिला तथा बालबालिका कार्यक्रमका लागि ३४ करोड ३८ लाख ८० हजार रुपैयाँ बजेट अनुमान गरेको छ । 

ललितपुर महानगरपालिका:
ललितपुर महानगरपालिकाले चालू आवको तुलनामा आगामी आवको बजेट ११.०५ प्रतिशतले बढाएर ल्याएको छ ।ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि  ५ अर्ब १७ करोड ९६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा पेस गरिएको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । पूर्वाधार विकासका लागि २ अर्ब ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको हो । त्यसै गरी आगामी आर्थिक वर्षको चालू खर्चका लागि १ अर्ब १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । 

सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपत् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरेको छ । 

भरतपुर महानरपालिका:
भरतपुर महानगरपालिकाले चालू आवको तुलनामा आगामी आवको बजेट ०.९६ प्रतिशतले बढाएर ल्याएको छ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि  ३ अर्ब ३७ करोड ३१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिकाले सबैभन्दा बढी बजेट पूर्वाधार विकासमा छुट्ट्याएको छ । उत्पादन, शिक्षा र स्वास्थ्यमा  तथा वातावरण र सरसफाइमा बजेट खर्च गर्ने गरी भरतपुरको बजेट आएको छ । भरतपुर महानगरपालिकामा पूर्वाधार, शिक्षा, पर्यटन र कृषिमा बढी रकम विनियोजन गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x