५ वर्ष अघि ३४ अर्ब रहेको मुक्तिनाथ विकास बैङ्कको वासलातको आकार अहिले १ खर्ब माथि

नेपालमा सञ्चालित विकास बैङ्कहरू मध्ये मुक्तिनाथ विकास बैङ्क धेरै सूचकहरूमा अग्र स्थानमा रहँदै आएको छ । वासलातको आकार, आम्दानी जस्ता कुरामा मुक्तिनाथ विकास बैङ्क अन्य विकास बैङ्कहरू मध्य अब्बल देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको प्रतिवेदनको आधारमा ६ अर्ब माथि चुक्ता पुँजी भएको सो विकास बैङ्कको आकार वाणिज्य बैङ्क भन्दा कम देखिँदैन । ५ वर्ष अघि ३४ अर्ब रहेको बैङ्कको वासलातको आकार अहिले वृद्धि भएर १ खर्ब २१ अर्ब पुगेको छ । 

छोटो समयमै ठुलो सफलता
सन् २००७ मा ३ जिल्ले विकास बैङ्कको रूपमा स्थापित मुक्तिनाथ विकास बैङ्कले सन् २००८ बाट लघुवित्त कार्यक्रम सुरु गरेको थियो ।  स्थापनको छोटो अवधिमा अर्थात् सन् २०१२ मा १० जिल्ले विकास बैङ्क र  सन् २०१५ मा राष्ट्रिय स्तरको विकास बैङ्क बन्न सफल सो बैङ्क २०१८ बाट एक नम्बरको विकास बैङ्कका रूपमा आफूलाई स्थापित गर्दै आएको छ ।  

बैङ्कको सञ्चालक समिति
हाल बैङ्कको सञ्चालक समितिको अध्यक्षमा बैङ्किङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका भरतराज ढकाल हुनुहुन्छ । उहाँ वि.स २०६३ देखि २०७५ सम्म मुक्तिनाथ विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा पनि कार्यरत हुनुन्थ्यो । उहाँकै दूर दृष्टिबाट मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषिको स्थापना भएको थियो । उहाँ हाल मुक्तिनाथ कृषिको अध्यक्ष पनि हुनुहुन्छ । त्यस्तै अन्य सञ्चालकमा गजेन्द्रमान श्रेष्ठ, रवीन्द्रमान श्रेष्ठ, शालिग्राम मिश्र, निर्मला कुमारी केसी कार्की र श्याम सुन्दर शर्मा (स्वतन्त्र सञ्चालक)  हुनुहुन्छ । 
 
बैङ्कको उच्च व्यवस्थापन समूह
देशकै ठुलो विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल हुनुहुन्छ। उहाँले क्रेडिट, डिपोजिट, रेमिटेन्स, ट्रेजरी र अन्य व्यवसाय/सञ्चालन क्षेत्रमा ३० वर्षभन्दा बढी बैङ्किङ अनुभवका साथ आफूलाई एक दक्ष बैंकरको रूपमा स्थापित गर्नुभएकाे छ । उहाँले यसअघिका संस्थाहरू (नबिल बैङ्क लिमिटेड र मेगा बैङ्क नेपाल लिमिटेड) मा उच्च नेतृत्वमा रहेर काम गर्नुभएको छ । पोखरेल बैंकिंग समुदायमा एक प्रखर विश्लेषक एवं कुशल नेतृत्वदायी तथा व्यवस्थापकीय क्षमता भएका बैंकरको रूपमा समेत परिचित हुनुहुन्छ। त्यस्तै उच्च व्यवस्थापन समूहमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल सहित नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य, सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ्ग र सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत हुनुहुन्छ ।

बैङ्कका ठुला शेयर धनीहरू
आर्थिक वर्ष ७८/७९ को वार्षिक प्रतिवेदन अनुसार बैङ्कमा सबै भन्दा धेरै २.३२ प्रतिशत अर्थात् १३ लाख १० हजार ५७९ कित्ता शेयर तुलसीराम ढकालको रहेको छ । त्यस्तै कृष्णमान श्रेष्ठको २.१३ प्रतिशत अर्थात् १२ लाख ५ हजार १६७ कित्ता शेयर रहेको छ भने मीन प्रसाद गुरुङको २.०९ प्रतिशत अर्थात् ११ लाख  ८२ हजार ७८८ कित्ता शेयर रहेको छ ।

बैङ्कमा पब्लिकको ९७.३१ प्रतिशत  शेयर स्वामित्व हुँदा संस्थागत लगानीकर्ताको शेयर स्वामित्व २ दशमलव ६९ प्रतिशत छ । २०७८ असार मसान्तसम्म भने संस्थागत लगानीकर्ताको  शेयर स्वामित्व २ दशमलव १५ प्रतिशत थियो भने पब्लिकको शेयर स्वामित्व ९७ दशमलव ८५ प्रतिशत थियो। एक वर्षको अवधिमा संस्थागत लगानीकर्ताको हिस्सा थोरै बढेको देखिन्छ ।

५ वर्ष अघिको बैङ्क र आजको बैङ्क 
५ वर्ष अघि २ अर्ब ५९ करोड चुक्ता पुँजी भएको विकास बैङ्कको चुक्ता पुँजी आर्थिक वर्ष ७८/७९ सम्म आइपुग्दा ५ अर्ब ६५ करोड पुगेको छ । त्यस्तै ५ वर्ष अघि ३ अर्ब ६२ करोड रहेको शेयरधनीहरुको कुल पुँजी आर्थिक वर्ष ७८/७९ सम्ममा ८ अर्ब ७ करोड पुगेको छ ।  

५ वर्ष अघि ६२ करोड ४० लाख खुद नाफा कमाएको बैङ्कले विगत दुई आर्थिक वर्ष देखि अर्ब माथि नाफा कमाउन सफल भएको छ । आर्थिक वर्ष ७७/७८ मा १ अर्ब १५ करोड खुद नाफा कमाएको बैङ्कले आर्थिक वर्ष ७८/७९ मा १ अर्ब ३४ करोड खुद नाफा कमाएको थियो । 

चुक्ता पुँजी वृद्धि हुँदा पनि विगत ५ वर्ष देखि बैङ्कले प्रति शेयर किताबी मूल्य अथवा प्रति शेयर नेट्वर्थलाई सन्तुलित गर्न सफल भएको छ । ५ वर्ष अघि १३९.८९  रुपैयाँ प्रति शेयर नेट्वर्थ रहेकोमा आर्थिक वर्ष ७८/७९ मा १४२.७७ रुपैयाँ कायम भएको छ ।

५ वर्ष अघि ९५ शाखा सञ्जाल भएको मुक्तिनाथ विकास बैङ्कले आर्थिक वर्ष ७८/७९ सम्म आइपुग्दा १७७ शाखाहरू मार्फत सेवा प्रदान गरिरहेको छ। त्यस्तै ५ वर्ष अघि ९३५ कर्मचारीहरू कार्यरत थिए भने २०७९ असार मसान्तसम्ममा बैङ्कमा १५५५ कर्मचारीहरू कार्यरत थिए ।  

५ वर्ष अघि बैङ्कमा ३० अर्ब निक्षेप रहेको थियो भने आर्थिक वर्ष ७८/७९ सम्ममा निक्षेप सङ्कलन १ खर्ब माथि पुगेको छ। त्यस्तै सोही अवधिमा ग्राहकलाई प्रवाह गर्ने कर्जा २५ अर्बबाट वृद्धि हुँदै ८९ अर्ब पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

80.00%
20.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x