बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना



ज्ञानमाण्डू।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पूँजी बढाउनै पर्ने बताउनुभएको छ ।


बीमा समितिको आयोजनामा विहिबार (हिजो) काठमाडौंमा आयोजित बीमकको पूँजी बृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पूँजी बृद्धिको निर्णय गरेको हो । बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।”


पूँजी बढाउन सक्ने बीमा कम्पनीले बढाउनुपर्ने र नसक्नेले विकल्पहरु खोज्नुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको हो, बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो । समितिले जारी गरेको जोखिममा आधारित पूँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पूँजी आवश्यक पर्नसक्छ ।”


अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनी पूर्ण क्षमतामा चल्नुपर्‍याे । दाबी भुक्तानी हुनुपर्‍याे । कम्पनीको मुनाफा बढ्नुपर्‍याे । देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुग्नु पर्‍याे । स्थानीय तहमा बीमाका लागि पर्याप्त स्रोत र संभावना पनि छ, त्यहाँ कम्पनीहरु जानुपर्‍याे । शाखा कार्यालयहरू स्रोत साधनले सम्पन्न हुनुपर्‍याे ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तोकिएको एक महिनाको अवधिमा करिव करिव सबै बीमा कम्पनीबाट पूँजी वृद्धिको योजना समितिमा प्राप्त भइसकेको जानकारी दिनुहुँदै पूँजी बृद्धिका लागि कतिपयले हकप्रद शेयर, कतिपयले बोनश शेयर, कतिपयले मर्जर र कतिपयले समयावधि थपको विषय योजना समावेश गरेको जानकारी दिनुभयो ।


कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीको सङ्ख्या धेरै भए पनि बीमाप्रतिको विश्वसनीयता बढ्न नसकेको र दाबी भुक्तानीमा समस्या देखिएको औंल्याउनुहुँदै बीमा बजारलाई मर्यादित, सुशासित र दीगो बनाउने उद्देश्यले पूँजी बृद्धिको निर्णय भएको बताउनुभयो ।


कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनीले बीमकको पूँजी बृद्धि सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बीमा समितिका निर्देशक दिनेश कुमार लालले संचालन गर्नुभएको कार्यक्रममा बीमा समितिका निर्देशकहरु कमलप्रसाद रेग्मी र पूजन ढुङ्गेल (अधिकारी) र सबै निर्जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी तथा प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x