थिमिमा विभिन्न आयोजनाको निर्माण


ज्ञानमाण्डू।“माननीयज्यू, यो सडक समयमै सम्पन्न गर्नुपर्छ, तपाईँले अन्तजस्तै यहाँ पनि समय समयमा अनुगमन गर्नुभयो भने गुणस्तरीय काम हुने थियो ।” सांसद महेश बस्नेतसँग स्थानीयवासीले आफ्ना कुरा राख्दै थिए । सांसद महेश बस्नेत मध्यपुरथिमि नगरपालिका–९ स्थित निकोसेरा हिमालय टोल सडक छ मिटर चौडामा विस्तार स्तरोन्नति एवं कालोपत्र शुरु हुनुअघि स्थानीय बासिन्दासँग छलफल एवं अनुगमन गर्न पुगेका थिए । 

काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरद्वारा विनियोजित रु दुई करोडको लागतमा निर्माण हुन लागेको उक्त सडकको अनुगमनमा सांसद बस्नेतलाई अर्का स्थानीयले भने , “हामीलाई खानेपानीको पनि समस्या छ, तपाईँले पानी ल्याउने व्यवस्था गरिदिनु पर्यो ।” 

जिल्ला आयुक्त कार्यालयका प्रमुख ईश्वर जोशी, इञ्जीनियर गणेश कोजुसहितको प्राविधिक टोलीलाई साथमा लिएर अनुगमनमा पुगेका सांसद बस्नेत आफ्नै टोलमा आएको खबरसँगै भेला भएका स्थानीयवासीले भएभरका सबै समस्या र आशाहरु उनकै पोल्टामा खन्याउन व्यस्त देखिन्थे । 

जिल्लामा रु छ अर्बभन्दा बढीको बजेटमा भएका साना–ठूला करिब ४०० आयोजनामध्ये मध्यपुरथिमि नगरपालिका क्षेत्रमा मात्रै रु तीन अर्ब ३५ करोड सात लाखको लागतमा विभिन्न आयोजना निर्माण भएको सांसद बस्नेतले जानकारी दिए । आब २०७६/७७ मा सांसद कोषको रु छ करोड बजेटमध्ये मध्यपुरथिमि नगर क्षेत्रमा मात्रै रु तीन करोड ९८ लाखको लागतमा १६ वटा आयोजना सम्पन्न भएका छन् । ती मध्येमा कुण्डोल सार्वजनिक जग्गा संरक्षण, इन्द्रायणीबाट कोरियन अस्पताल जाने सडकको स्तरोन्नति, चाकुनानीबाट कोरियन अस्पताल जाने बाटो र दुवाखोल्छामा ढुङ्गा छपाइ, कोरियन अस्पतालको दायाँबायाँ पर्खाल निर्माण, सङ्गमेश्वर महादेव मन्दिर पुनःनिर्माण, धुन्चेपाखा उकालो सडक ढलान, पाटी बिहार, चपाचोको बसिपु पोखरी जीर्णोद्धार र चेतनशील बहुउदेश्यीय सामुदायिक भवन निर्माण गरिएको छ । 

त्यसैगरी शङ्खधर साख्वाः प्रतिष्ठानको भवन निर्माण, गठ्ठाघरबाट सागबारी जाने सडक विस्तार एवं स्तरोन्नति, नयाँ बस्ती समाज जाने सडक कालोपत्र, कोरियन अस्पताल उत्तरतर्फको ढुङ्गेधारा स्तरोन्नति, इन्द्रायणी परिसर सुधार सम्पन्न भएको छ । यसअघि आव २०७५/७६ मा पनि सांसद कोषको रु दुई करोड ९५ लाखको बजेट मध्यपुरथिमिको विकासका आयोजनाहरुमा खर्च भएका थिए । 

सांसद कोषको रकमबाहेक सडक डिभिजन कार्यालय मार्फत विनियोजित रु आठ करोड ७५ लाखको बजेटमा हनुमन्ते खोलादेखि हुलाकचोक बाहखा बजार सडक, नगरपालिका भवन, मिलरोड हुदै मनोहरा पुल, अरनिको राजमार्गबाट हनुमन्ते खोला सडक, लोकन्थली मनोहरा पुलबाट टिकाथली सडक, नागबेलीबाट खस्याङ्खुसुङ् खोला, बोडेबाट मुलपानीसम्म, राधेराधे जगदम्बा टावरबाट पुरानो बाटो निकासेरा सडक निर्माण भएको थियो । 

हनुमन्ते करिडोर निर्माणको दुई चरणको काम सम्पन्न भएको छ । सांसद बस्नेतले भने, “एकीकृत अधिकारसम्पन्न वाग्मती सभ्यता आयोजनामार्फत आव २०७६/७७ सम्म दुईचरणमा कूल रु एक अर्ब ६३ करोडको लागतमा राधेराधेबाट चारदोबाटो हुँदै लोकन्थली मनोहरा खोलासम्मको निर्माण सम्पन्न भएको छ, बाँकी काम पनि निरन्तरता दिँदै आगामी वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।” 

शहरी विकास तथा भवन निर्माण विभागमार्फत आव २०७६÷७७ मा आएको रु दुई करोड ७९ लाखको बजेटले मध्यपुरमा नौ वटा योजना सञ्चालन गरिएको छ । लोकन्थली आँखा अस्पतालबाट बालकुमारी जाने सडक जोड्ने मनोहरा खोलामा रु ८० लाखमा बेलिब्रिज निर्माण, वन तथा वातावरण मन्त्रालयमार्फत रु २७ लाखको लागतमा अरनिको राजमार्ग खण्डको लोकन्थलीबाट सूर्यविनायकसम्म सडकमा हरियाली प्रवद्र्धनको काम सम्पन्न भएको छ । 

त्यस्तै रु ७१ करोडको लागतमा पेप्सीकोला, सानोठिमी, निकोसेरा हुदै भक्तपुर सल्लाघारी जोड्ने सडक विस्तारको काम भइरहेको र रु ७१ करोडको लागतमा मनोहरा करिडोर निर्माण सम्पन्न भएको छ । त्यस्तै रु छ करोड १० लाखको लागतमा मध्यपुरथिमि शङ्खधर चोकबाट सूर्यविनायक–४ जोड्दै दक्षिणबाराही जाने मूल सडकको पुल निर्माण, एस्एस कलेजबाट दधिकोट जाने सडकमा रु ३५ लाख र तजःटोलमा ३३ लाखको ट्रष्ट निर्माण भएको छ । 

पुनःनिर्माण प्राधिकरण र संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत रु दुई करोडको लागतमा बोडे निलबाराही क्षेत्रमा भू–क्षय नियन्त्रण, ढुङ्गा छपाइ भएको छ भने रु ५१ लाख ८९ हजारको बजेटबाट मध्यपुरथिमि नगरपालिका खानेपानी योजना सञ्चालन भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत मध्यपुरथिमिमा रु १९ लाख ६९ हजार ७७१ को लागतमा बिष्णु तिर्थ जाने बाटो विस्तार, अन्नपूर्ण टोल जाने सडक ग्राभेल, सुन्दर बस्ती जाने सडक, ७ नं स्वास्थ्य चौकीबाट इन्द्रकमलसम्म ग्राइभेल, पर्खाल निर्माण तथा कालोपत्र गर्ने कार्य सम्पन्न भएको जनाइएको छ । 

शहरी सडक विस्तार आयोजनाअन्तर्गत मध्यपुरथिमि क्षेत्रमै रु ९६ लाख ३० हजार १९१ को लागतमा मध्यपुरथिमि–२ बाटो तथा ढल पुनःनिर्माण, सुधार तथा स्तरोन्नति, चन्द्रेश्वर मन्दिरको पश्चिम सडकमा ग्राभेल, कोरियन अस्पताल अगाडि आर्मी व्यारेक हुँदै नमूना बस्ती सडकमा टेवा पर्खाल निर्माण तथा स्तरोन्नति, ३ नं शान्तिमार्ग निर्माण तथा स्तरोन्नति, ७ नंं मधुचोक तीनधारा सडक विस्तार तथा स्तरोन्नति, राधेराधे क्षेत्रको डुबान हुने क्षेत्रका सडकमा ग्राभेलिङ गर्ने कार्य सम्पन्न भएको छ । 

आगामी तीन वर्षभित्र भक्तपुर जिल्लालाई विकसित नमूना जिल्ला बनाउने गरी केन्द्रीय सरकारबाटै रु छ अर्बभन्दा बढीको बजेट निकासा गराई जिल्लाका विभिन्न आयोजनालाई पूर्णता दिने काम भइरहेको र थप बजेटले नयाँ आयोजनासमेत शुरु गरिने भएको पूर्वमन्त्री समेत रहनुभएका बस्नेत बताउछन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x