आम जनताको मनोबल बढाउन सरकार र राष्ट्र बैङ्कले विशेष कदम चाल्नुपर्छ, अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम जनता र लगानीकर्ताको मनोबल बढाउन नेपाल सरकार र नेपाल राष्ट्र बैङ्क दुवैले विशेष कदम चाल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन समारोहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भए पनि आम जनता र लगानीकर्ताको मनोबल बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताउँदै मनोबल बढाउन स्पष्ट सन्देश दिने गरी नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले विशेष कदम चाल्नुपर्ने बताउनुभएको छ ।

“केही दिन पहिले प्रधानमन्त्रीज्यूले बोलाएको सर्वपक्षीय र सर्वदलीय बैठकमा अर्थमन्त्रीज्यू र गभर्नरज्यूले दिएको तथ्याङ्कले अब अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाएको छ । तर, साना व्यवसाय र साना व्यवसायीबाट सुरु भएको समस्या अब ठुला व्यवसायी र व्यवसायमा देखिन थालेको छ । बैङ्कमा बढेको एनपीएलले पनि त्यो सङ्केत गर्दछ । बैङ्कको नाफा घट्दा पुनः बैङ्कले दाखिला गर्ने सरकारी करमा नै असर पर्ने हो । खर्च र आम्दानीको फरक बढ्दो देखिएको छ । साधारण खर्च बढेको देखिन्छ तर त्यसको तुलनामा आम्दानी खुम्चिँदो छ । यसले अर्थतन्त्र सुधार गर्न अझै मिहिनेत गर्नुपर्ने देखाउँछ ।” उहाँले भन्नुभयो ।

सर्वपक्षीय बैठकमा पनि मैले भनेको थिए । अहिलेको प्रणालीलाई कमजोर नबनाई नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कले केही लचकता अपनाउने हो भने मात्र पनि अर्थतन्त्रलाई पुनः लयमा ल्याउन सकिन्छ । यसमा सुधार ल्याउन सकिन्छ । आम जनता र लगानीकर्ताको मनोबल बढाउन सकिन्छ, उहाँले भन्नुभयो ।

उहाँले आम जनतामा एउटा म्यासेज दिने काम सरकारले गर्नुपर्ने बताउनुभयो ।

“सरकारको पुँजीगत खर्च भएन भनिएको छ । त्यसलाई बढाउन आवश्यक छ । भएको खर्चको भुक्तानी पनि रोकिएको छ । त्यसलाई तत्काल रिलिज गर्दिने हो भने यसले बजारमा पैसाको फ्लो बढाउने र आर्थिक गतिविधि बढाउनेछ । त्यसै गरी, मूल्य अभिवृद्धि करको पैसा ६ महिनापछि फिर्ता गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । खास गरी दीर्घकालीन र उत्पादनमूलक क्षेत्रमा गरिने लगानीमा लगाएको मूल्य अभिवृद्धि करलाई फिर्ता गर्न सकियो भने यसले सकारात्मक सन्देश जानेछ । व्यवसायीलाई उत्साही बनाउनेछ,” उहाँले भन्नुभयो, “सरकारले फिर्ता गर्ने पैसा धेरै हुँदैन । तर यसबाट दिने सन्देश निकै महत्त्वपूर्ण हुनेछ ।”

त्यस्तै नेपाल राष्ट्र बैङ्कले अहिलेको प्रणालीलाई नबिगारी साना तथा मझौला व्यवसायलाई सङ्कटबाट बाहिर ल्याउन विशेष उपकरण ल्याउन आग्रह गर्नुभयो ।

अप्ठ्यारो समयमा नेपाल राष्ट्र बैङ्क लचिलो हुँदा बैङ्क तथा वित्तीय संस्थाले पनि लचिलो भएर व्यवसायीहरूलाई ऋण दिएको तर अहिले व्यवसायीहरू अप्ठ्यारोमा रहेकोले नेपाल राष्ट्र बैङ्कले कसिलो नीति लिएर व्यवसायीलाई अप्ठ्यारोमा पार्नु र निजी क्षेत्रलाई मात्र दोष दिनुभन्दा उनीहरूलाई सहज हुने गरी लचिलो भएर आउन आग्रह गर्नुभयो ।

कर दिवसमा सबैभन्दा धेरै आयकर कर दाखिला गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने प्रचलनले निजी क्षेत्र र करदातालाई प्रोत्साहन गरेको बताउँदै अध्यक्ष ढकालले कर तिर्दा सरकारले सम्मान गर्छ भन्ने कुरा प्रत्येक वर्ष बढ्दै गइरहेको र यो सरकार तथा निजी क्षेत्रबिच सहकार्य गर्ने एउटा महत्त्वपूर्ण दिनको रूपमा पनि रहेको बताउनुभयो ।

उहाँले अर्थतन्त्र सुधारका लागि सरकारले लिएको इनिसिएसनले मात्र शेयर बजारमा सुधार देखिएको बताउँदै केही सकारात्मक परिवर्तन हुने गरी सुधारको सन्देश दिन सरकारलाई आग्रह समेत गर्नुभयो ।

हरेक वर्ष कर दिवसमा सम्मान पाउने तर सिंहदरबार छिर्नलाई अनेक झमेला गर्नुपर्ने निजी क्षेत्रको गुनासो तत्काल सम्बोधन गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले कर दिवसमा निजी क्षेत्रलाई गरिएको सम्मानले करको माध्यमबाट निजी क्षेत्रको भूमिका पनि प्रस्ट भएको बताउनुभयो ।

“निजी क्षेत्र कति जिम्मेवार छ भन्ने कुरा म राख्न चाहन्छु । केही वर्ष पहिले, कोभिड महामारीको समयमा अदालतले निजी क्षेत्रलाई कर दाखिला गर्न दिएको समयका बाबजुद निजी क्षेत्रले सरकारको आग्रहमा समयमै कर दाखिला गरेर राज्यलाई करको टार्गेट भेटाउन तत्कालीन अवस्थामा गरेको सहयोगले पनि निजी क्षेत्र जिम्मेवार छ भन्ने देखाउँछ । अदालतले केही समयपछि कर तिर्दा हुन्छ भन्दाभन्दै पनि हामीले त्यस बेलामा गरेको सहयोगले हामी निजी क्षेत्र वास्तवमै जिम्मेवार छौ भन्ने देखाउँछ ।”

उहाँले राज्यले सहजीकरण गर्ने हो भने नेपालको अर्थतन्त्रमा ८१ प्रतिशतभन्दा धेरै रहेको निजी क्षेत्रको योगदान बढाउन सकिने कुरा जानकारी गराउनुभयो । 

“राजश्वसँग सम्बन्धित कुराहरू गर्दा कतिपय कानुनी कुराहरू छन्, कतिपय प्रक्रियागत कुराहरू छन्, र कतिपय पूर्वाधारसँग सम्बन्धित विषयहरू रहेका छन् । कानूनीरुपमा हेर्दा आयकर, मूल्य अभिवृद्धि कर ऐनमा केही सुधार आवश्यक छ । राजश्व चुहावट रोक्नुपर्ने कुराहरू छन् भने कतिपय कुराहरू अहिलेका नीतिहरू कार्यान्वयन नभएको अवस्था छ । त्यसलाई सुधार गर्ने हो भने कर पनि बढ्ने र निजी क्षेत्रलाई सहज हुने हुनसक्छ,” उहाँले भन्नुभयो ।

अहिले केही कुरा सकारात्मक पनि भएको बताउँदै यसलाई थप सबल बनाउन सरकार तथा नेपाल राष्ट्र बैङ्कको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले विदेशी विनिमय सञ्चिति अहिलेसम्मकै धेरै रहेको, रेमिटेन्स आप्रवाह र पर्यटक आगमनमा उत्साह देखिदा पनि आम जनतामा किन मनोबल बढाउन सकिएन भन्ने कुरा गम्भीर रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष समेत रहेका ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरूप सम्मान पत्र प्रदान गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
0.00%
100.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x