सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत

बैङ्क तथा वित्तीय संस्था परिसंघ, नेपालका अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिनुभएको राजीनामा मिति २०८० पौष २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५ औँ बैठकले स्वीकृत गरेको छ । एनएमबि बैङ्कको आसन्न साधारण सभाबाट बैङ्कको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्व जानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।

निवर्तमान अध्यक्ष गोल्यानकै विशेष अगुवाइमा वि.सं २०७६ सालमा स्थापित सिबिफिनको उहाँ संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म उदाहरणीय नेतृत्व गर्दै आउनुभएका गोल्यानको चार वर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको छ । निवर्तमान अध्यक्ष गोल्यानको फराकिलो र दूरगामी सोच एवं मार्ग निर्देशनमा अगाडि बढेको सिबिफिनले आर्थिक एवं बैङ्किङ क्षेत्रमा खेलेको भूमिका र योगदानका आधारमा प्रवल जनसेवाश्री जस्तो राष्ट्रिय पदकबाट समेत विभूषित भइसकेको छ ।

नेपालको बैङ्किङ क्षेत्रमा दुई दशकभन्दा लामो अवधिदेखि निरन्तर क्रियाशील हुँदै आउनुभएका गोल्यानको नेपालको बैङ्किङ क्षेत्रको विकास एवं विस्तारमा समेत अतुलनीय योगदान रहेको छ । राष्ट्रिय आवश्यकता र आमजनताको अपेक्षाबमोजिम स्वदेशी उत्पादकत्व अभिवृद्धि, उपयोग एवं निर्यात, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, रोजगारी, नवप्रवर्तनको विकास, घरेलु, साना तथा मझौला उद्यमी तथा व्यवसायको पुनरुत्थानसहित राष्ट्रिय अर्थतन्त्रलाई सबल, सुदृढ र आत्मनिर्भर उन्मुख बनाउन गोल्यानले अहम् भूमिका समेत निर्वाह गर्दै आउनुभएको छ।

निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त हुन आएको अध्यक्ष पदमा परिसंघको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५ औ बैठकले नबिल बैङ्कका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ ।

अध्यक्षमा सर्वसम्मत हुनुभएका पौडेल विगत तीन दशकदेखि बैङ्किङ क्षेत्रमा क्रियाशील हुनुहुन्छ । सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कबाट बैङ्किङ सेवामा प्रवेश गर्नुभएका पौडेलले एनएमबि बैङ्कको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।  एनएमबि बैङ्कको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात्  उहाँ नबिल बैङ्कको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गर्नुभएका अध्यक्ष पौडेल आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको दिगो विकासमा काम गर्ने विश्वभर रहेका बैङ्क तथा बैङ्किङ संस्थाको स्वतन्त्र सञ्जाल Global Alloance for Banking on Values (GABV) को सन् २०१८ देखि एसिया प्यासिफिक क्षेत्रीय प्रतिनिधिको जिम्मेवारमा समेत हुनुहुन्छ । सन् २०१४ देखि नोभेम्बर २०१६ सम्म नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष रहनुभएका पौडेल सन् २०२२ देखि Management Association of Nepal (MAN) को समेत अध्यक्ष हुनुहुन्छ । त्यसै गरी अध्यक्ष पौडेलले डिसेम्बर २०१० देखि मार्च २०१७ सम्म European Economic Chamber of Commerce (EEC) को कोषाध्यक्ष तथा जुलाई २०१५ देखि अगस्ट २०१९ सम्म नेपाल बैङ्किङ इन्स्टिच्युटको बोर्ड सदस्यको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

बैङ्किङ सहित राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका विविध क्षेत्रमा उहाँले हासिल गर्नुभएको बृहत्तर ज्ञान, अनुभव तथा दूरदर्शी नेतृत्व क्षमताबाट सिबिफिनले नयाँ उचाइ प्राप्त गर्नुका साथै आर्थिक एवं बैङ्किङ क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरूको न्यूनीकरण र समग्र अर्थतन्त्रको सबलीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा रहेकाे सिबिफिनले जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x