बजेट नआउँदा भुक्तानी दिन समस्या


अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा भएका निर्माण ठेक्का सम्झौताभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन् । विभिन्न स्थानमा ठेक्का सम्झौताअनुसार काम नभएको, योजना अलपत्र परेको, निर्माण व्यवसायी काम छाडेर भागेको भन्ने खबर आइरहँदा सन्धिखर्क नगरपालिकामा भएका कामलाई उदाहरणका रूपमा लिइएको छ ।

सन्धिखर्क नगरपालिका वडा नं. ७ फज्र्याङ्ग, वडा नं ८ किमडाँडा र वडा नं ११ डिभर्नाको स्वास्थ्य चौकी भवन निर्माण सम्झौता मितिभन्दा पाँच महिनाअघि नै सम्पन्न भएका छन् । पन्ध्र महिनामा सम्पन्न गर्ने काम छिटो र छरितो गरी १० महिनामै सम्पन्न भएका हुन् । प्रतिभा खनाल ब्रदर्स सम्झना जेभीले तीन वडामा स्वास्थ्य चौकी भवन निर्माण २०८१ साल जेठ ७ गतेसम्म सम्पन्न गर्न सन्धिखर्क नगरपालिकामा सम्झौता गरेको थियो । स्वास्थ्य चौकी भवन निर्माण पाँच महिनाअघि नै सम्पन्न भइसकेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले २०७९ फागुन ८ गते प्रतिभा खनाल ब्रदर्स सम्झना जेभीलाई १५ महिनामा काम सम्पन्न गर्ने गरी कार्यादेश दिनुभएको र सोभन्दा चाँडै सम्पन्न गरेको निर्माण व्यवसायी कविराम खनालले बताउनुभयो । तीन वटा स्वास्थ्य चौकी भवन निर्माण गर्न मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ७६ लाख ३९ हजार ६०४ पैसा ४० मा निर्माण व्यवसायीले सम्झौता गरेको र सम्झौताअनुसारको काम सम्पन्न गरेर निर्माण व्यवसायीबाट भुक्तानीको लागि निवेदन पेस भइसकेको नगरपालिकाका योजना शाखा प्रमुख डिलकुमार केसी (दिलिप) ले जानकारी दिनुभयो ।

तीन वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सजिलो हुने भएको छ । सङ्घीय सरकारबाट चालु आर्थिक वर्षका लागि विशेष अनुदान शीर्षकमा विनियोजित बजेट अपर्याप्त रहेकोले निर्माण सम्पन्न गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा थप बजेट माग्दा पनि निकासा नभएकोले निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाई छ ।

सन्धिखर्क नगरपालिकाकै चुत्राबेसी, भक्तिटोल, धरम्पानी, अर्घा मैदान सडक स्तरोन्नतिको कार्य २०८० साल माघ २६ गते सम्पन्न गर्ने गरी सम्झौता भएकोमा यो काम पनि झन्डै एक महिना अघि सम्पन्न भएको छ । यो सडक निर्माणका लागि रायमाझी जयमाता खनाल ब्रदर्स जेभीले २०८० साल माघ २६ गतेसम्म काम सम्पन्न गर्ने गरी २०७८ साल फागुन ९ गते कार्य आदेश पाएको थियो । सडक निर्माणका लागि जेभीले मूल्य अभिवृद्धि करसहित रु छ करोड १९ लाख १७ हजार ८९९ पैसा ७४ मा सम्झौता गरेको थियो । यस्तै सन्धिखर्क ९ मा रहेको अर्घा भगवती आधारभूत विद्यालय भवन निर्माण पनि सम्झौता मिति भन्दा दुई महिना अघि सम्पन्न भएको छ । विद्यालय भवन निर्माण २०८० साल चैत ६ गतेसम्म सम्पन्न गर्ने गरी केसी, प्रतीक्षा सृजना जेभीले मूल्य अभिवृद्धि करसहित रु तीन करोड नौ लाख १४ हजार ६३८ पैसा ४१ मा ठेक्का सम्झौता गरेको थियो ।

विकास निर्माणलाई गुणस्तरीय बनाउन समय समयमा अनुगमन, मूल्याङ्कन, ल्याब टेस्ट लगायतका काम पनि नगरपालिकाका प्राविधिकको टोलीले गरेको थियो । कामलाई सही, राम्रो र गुणस्तरीय बनाउन तथा स्टमेट अनुसार काम गराउन नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, नगर उपप्रमुख मिश्रा आचार्य र प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालसहितको इन्जिनियर तथा प्राविधिकको टोलीले अनुगमनलाई पनि निरन्तरता दिएका थिए । जसका कारण काम तोकिएको मिति भन्दा अगावै सम्पन्न हुन सफल भएका हुन् ।

अर्घाखाँचीमा विकास निर्माण तोकिएको समय भन्दा छिटो सम्पन्न गर्ने निर्माण व्यवसायी हुनुहुन्छ युवा व्यवसायी कबिराम खनाल । अर्घा भगवती विमानस्थलको निर्माणमा तोकिएको मिति भन्दा छिटो काम सम्पन्न गरेर पुरस्कार पनि प्राप्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x