अर्थतन्त्र चलायमान बनाउन संवाद परिषद्लाई सक्रिय बनाउन आवश्यक छ, महासङ्घ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायी र आम उपभोक्ताको मनोबल बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले निजी क्षेत्रको सुझावअनुसार संवाद परिषद्लाई थप सक्रिय बनाउन आग्रह गर्नुभएको छ ।

नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष ढकालले भन्नुभयो, “अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसायी तथा आम उपभोक्ताको मनोबल वृद्धि गर्न परिषद्लाई थप चुस्त र सक्रिय बनाई निजी र सरकारी संवाद जरुरी छ । यसका लागि हामीले दिएको सुझाव अनुसार प्रधानमन्त्रीज्यूले संवाद परिषद्लाई सक्रिय बनाउनुभएको छ । यसलाई थप सक्रिय बनाउन आवश्यक छ ।”

स्थानीय मेला महोत्सवले अर्थतन्त्र र आर्थिक गतिविधि बढाउन सहयोग गर्ने बताउँदै उहाँले यसलाई महासङ्घ विशेष महत्वका विभिन्न स्थान आयोजना गर्ने गरेको जानकारी गराउनुभयो ।

“मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा, स्थानीय स्तर व्यावसायिक गतिविधिहरू बढाउन, स्थानीय वस्तु तथा सेवाको बजार विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । मेला महोत्सवहरू महासङ्घका  आफ्ना कार्यक्रमहरू हुन् । त्यसले आजको यस भव्य महोत्सवको आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घलाई विशेष धन्यवाद दिन चाहन्छु,” उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले श्रीलङ्कामा देखिएको आर्थिक समस्यालाई केन्द्रित गरी नेपाल सरकार र अन्य नियामक निकायले लिएका नीति नियमले अर्थतन्त्रलाई सङ्कुचित गरेको उल्लेख गर्नुभयो ।

“अहिले अर्थतन्त्रका सबै बाह्य सूचकहरू ठिक छन् । विप्रेषण अहिलेसम्मकै धेरै आएको छ । वैदेशिक मुद्राको सञ्चिति पनि उत्तिकै बढेको छ । यति हुँदाहुँदै पनि आम उपभोक्ता, व्यवसायी तथा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । त्यसैले, निजी क्षेत्रको सुझाव र प्रधानमन्त्रीज्यूको अगुवाइमा सक्रिय बनेको संवाद परिषद्लाई थप सक्रिय बनाउँदै अर्थतन्त्रलाई गति दिन आवश्यक छ,” उहाँले भन्नुभयो ।

धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बन्ध, दिगो आर्थिक विकासको लागि व्यावसायिक प्रवर्द्धन भन्ने नारा सहित आजबाट सुरु भएको सातौँ नुवाकोट महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x