नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिम भार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिम भार घटाई एक सय प्रतिशत कायम गरिएको छ ।
त्यसै गरी घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टु ग्रस इनकम रेसियो) लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने व्यवस्था ल्याइएको राष्ट्र बैङ्कले जनाएको छ ।
बैङ्क तथा वित्तीय संस्थाको एक वर्ष अवधि व्यतीत भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मौद्रिक नीतिको समीक्षाबाट ल्याइएको छ ।
त्यसै गरी बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था एक दशमलव २५ प्रतिशतबाट घटाई एक दशमलव २० प्रतिशत कायम गरिएको छ । चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने पनि नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
वार्षिक मौद्रिक नीतिमा लिइएको लचिलो कार्यदिशालाई तेस्रो त्रैमासिक समीक्षामा पनि निरन्तरता दिइएको राष्ट्र बैङ्कको भनाइ छ । “आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान पाँच दशमलव पाँच प्रतिशतको नीतिगत दर, ब्याजदर कोरिडोरअन्तर्गतको तीन प्रतिशतको निक्षेप सङ्कलन दर र सात प्रतिशतको बैङ्क दरलाई यथावत् राखिएको छ”, मौद्रिक नीतिको समीक्षामा भनिएको छ, “विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत् राखिएको छ ।”
ब्याजदर कोरिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैङ्कले जनाएको छ । साथै बैङ्क तथा वित्तीय संस्थाको पुँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरण प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने जनाइएको छ ।
सवारी कर्जाको जोखिम भार घट्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/like.png)
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/clap.png)
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/support.png)
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/love.png)
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/curious.png)
0%
![](https://www.gyanmandu.com/frontend/images/reactions/insightful.png)