सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज पुस २२ गतेदेखि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ३१ करोड रुपैयाँ अर्थात् ३१ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ। सोमध्ये प्रतिशेयर १०० रुपैयाँ दरका १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ।
आयोजना प्रभावित स्थानीयतर्फ लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दालाई ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता शेयर बाँडफाँट गरिनेछ। बाँकी ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता शेयर मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसै गरी, सर्वसाधारणका लागि छुट्टाइएको शेयरमध्ये १० प्रतिशत बराबरको १ करोड ५५ लाख रुपैयाँ अर्थात् १ लाख ५५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ।
आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस २५ गतेसम्म आवेदन दिन पाउनेछन्।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले प्रभु बैङ्क, ग्लोबल आइएमई बैङ्क, कृषि विकास बैङ्क र प्राइम कमर्सियल बैङ्कको बेसीशहर शाखा तथा हिमालयन बैङ्कको भुलभुले शाखामार्फत आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
सुपर खुदी हाइड्रोपावरको आइपिओ आजदेखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
