
शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज माघ ६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री सुरु गरेको छ। कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आइपिओ खुला गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा कुल ३२ लाख कित्ता आइपिओ निष्कासन गर्दै छ। यसमध्ये ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाइएको छ।
आयोजना प्रभावित समूहअन्तर्गत बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. १ देखि १० सम्मका बासिन्दा तथा विद्युत् प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. २ (साविक बुर्तिवाङ गाविसका वडा नं. २, ३, ४ र ५) का स्थानीयले आवेदन दिन पाउनेछन्।
आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते बन्द हुनेछ भने आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छिटोमा माघ २० र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ।
आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्दछ। यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ।
आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई बैङ्कको नक्साल, बुर्तिवाङ र बाग्लुङ बजार शाखा, प्रभु बैङ्कको बडिगाड–५ ग्वालीचौर शाखा, गरिमा विकास बैङ्क तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको बुर्तिवाङ शाखाबाट आवेदन दिन सक्नेछन्।
शिखर पावरको आइपिओ खुला, स्थानीय र वैदेशिक नेपालीलाई पहिलो चरणमा अवसर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
