जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखाहरूलाई पुरस्कृत गरेको छ । वार्षिक पुरस्कार वितरण समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सुन, चाँदीका मेडल र प्रशंसा पत्रसहित पुरस्कृत गरेको हो ।
यस वर्षको गरिमामय‘जीवन विकास गोल्डेन अवार्ड’ शाखा प्रमुख अनिलकुमार साहले प्राप्त गर्नुभयो । उत्कृष्ट कार्यसम्पादन गरेबापत साहलाई संस्थाका संस्थापक योगेन्द्र मण्डलले सुनको मेडल र अवार्ड प्रदान गर्नुभयो । यसअघि यो प्रतिष्ठित अवार्ड विजय मण्डल, तुलसा काफ्ले, मैयाँ राई, दिलबहादुर बिक र रमेश रायले प्राप्त गरेका थिए ।
कार्यक्षेत्रमा देखाएको असाधारण बहादुरीको कदर गर्दै संस्थाले मुकेशकुमार साह सुडीलाई ‘जीवन विकास साहसी अवार्ड’ प्रदान गरेको छ । संस्थाको बलाहा शाखामा भएको आक्रमणको समयमा उहाँले संस्थाको सम्पत्ति र सामग्री जोगाउनु भएको थियो । उहाँलाई संस्थापक मण्डलले १० तोला चाँदीको मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
संस्थाका देशभरमा रहेका १६० शाखाहरूमध्ये कार्यसम्पादनका आधारमा रामचोक शाखा प्रथम, सिमरिया शाखा दोस्रो र राजविराज शाखा तेस्रो भएको छ । उत्कृष्ट शाखाका टिमहरुलाई प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले पुरस्कृत गर्नुभयो ।
जीवन विकासले उत्कृष्ट शाखा प्रमुखतर्फ सन्तोष अधिकारी, सञ्जयकुमार मरवैता र राजकुमार मण्डललाई पुरस्कृत गरेको छ । पुरस्कृत शाखा प्रमुखलाई संस्थाका सञ्चालक इन्द्र नारायण देवले चाँदीको मेडल र प्रशंसा पत्र प्रदान गर्नुभयो ।
जिल्ला प्रमुखतर्फ सुजनकुमार मण्डल, किशोरकुमार साह र जिसु हास्दा उत्कृष्ट घोषित भएका छन् । उनीहरूलाई संस्थाका सञ्चालक प्रकाशकुमार श्रेष्ठले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
संस्थाले २० वर्षदेखि अविछिन्न सेवा पुर्याउने १० जना कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ । सम्मानित हुनेहरूमा सावित्री देवी श्रेष्ठ, दोयम प्रधान, रिता घिमिरे, रामनारायण यादव, सन्तोष कुँवर, शिव प्रसाद मण्डल, बाबुराम राजवंशी, वसन्त चौधरी, विनोद प्रसाद साह र सूर्यनारायण मण्डल छन् । उनीहरूलाई संस्थापक योगेन्द्र मण्डलले सम्मान–पत्र प्रदान गर्नुभयो ।
फिल्डमा खटिएर उत्कृष्ट नतिजा दिने फिल्ड म्यानेजर गोविन्द मण्डल, बिमला पोखरेल र दीपक मण्डललाई चाँदीको मेडलसहित पुरस्कृत गरिएको छ । त्यस्तै, उत्कृष्ट सहयोगी कर्मचारी विधामा इश्वर राई, प्रियङ्काकुमारी सरदार र सनितकुमारी माझी पुरस्कृत गरिएको संस्थाले जनाएको छ । संस्थाले कर्मचारीको मनोबल उच्च राख्न र कार्यक्षमता अभिवृद्धि गर्न हरेक वर्ष यस किसिमको पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै जीवन विकासका संस्थापक तथा पूर्व सांसद योगेन्द्र मण्डलले जीवन विकासले लघुवित्त क्षेत्रमा आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको बताउनुभयो । तीन वटा प्रदेशमा आफ्नो प्रभाव विस्तार गरिसकेको जीवन विकासले मानुषी र युनिक नेपालसँग मर्जरपछि देशव्यापी पहुँच विस्तार गर्ने बताउनुभयो । उहाँले सेवा प्रवाहलाई अझ मजबुत, जनमुखी बनाउनुपर्ने चुनौती र अवसर दुवै रहेको बताउनुभयो ।
संस्थाका सञ्चालक इन्द्रनारायण देवले पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका विविध चुनौतीलाई जीवन विकासले चिर्दै अघि बढेको बताउनुभयो । “अहिलेको समय चुनौतीपूर्ण छ, तर जीवन विकासले ती चुनौतीलाई चिर्दै सदस्यहरूको आर्थिक विकासमा ठोस योगदान पुर्याएको छ,” उहाँले भन्नुभयो, ” संस्थाको प्रगतिमा कर्मचारीको ठुलो योगदान छ ।”
अर्का सञ्चालक प्रकाश कुमार श्रेष्ठले कर्मचारीको मेहनतले गर्दा जीवन विकास देशकै उत्कृष्ट लघुवित्त बनेको बताउनुभयो । “कर्मचारीहरूको अहोरात्र मिहिनेतले नै यो संस्था उत्कृष्ट बनेको हो, “उनले भने, “अब देशको १ नम्बर लघुवित्त बनाउनु पर्छ ।”
संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले सामूहिक प्रयासबाट जीवन विकासले सदस्यको जीवनस्तर उकास्न योगदान गरिरहेको बताउनुभयो । लघुवित्त क्षेत्रमा जीवन विकासको पहिचान फरक र छुट्टै रहेको बताउँदै लघुवित्तसँगै सामाजिक सेवालाई पनि प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो । “समुदायमा जीवन विकासको पहिचान छुट्टै छ, हामी वित्तीय सेवामा मात्रै सीमित छैनौँ सामाजिक सेवालाई पनि प्राथमिकतामा राखेका छौँ, ” उहाँले भन्नुभयो, “सदस्यको सामाजिक र आर्थिक अवस्था सुधारका लागि अझ जिम्मेवार भएर लाग्नेछौ ।”
जीवन विकास लघुवित्तको वार्षिक पुरस्कार वितरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
