
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदर सम्बन्धी सर्तबारे स्पष्ट जानकारी लिन ग्राहकलाई आग्रह गरेको छ। स्थिर र परिवर्तनशील दुवै प्रकारका ब्याजदरमा कर्जा प्रवाह हुने भएकाले कर्जा सम्झौताअघि त्यसको प्रकृतिबारे बुझ्न आवश्यक रहेको केन्द्रीय बैङ्कले जनाएको हो।
राष्ट्र बैङ्कको अनुसार स्थिर ब्याजदरमा आधारित कर्जाको ब्याज तोकिएको अवधिसम्म परिवर्तन हुँदैन। तर परिवर्तनशील ब्याजदरअन्तर्गत बैङ्कको आधार दर (बेस रेट) मा हुने उतारचढाव अनुसार कर्जाको ब्याजदर पनि परिवर्तन हुन सक्छ।
केन्द्रीय बैङ्कले परिवर्तनशील ब्याजदर निर्धारण गर्दा बैङ्क तथा वित्तीय संस्थाले आधार दरमा निश्चित प्रिमियम थप गर्ने व्यवस्था रहेको जनाएको छ। यस्तो प्रिमियम ग्राहकको जोखिम मूल्याङ्कन तथा कर्जाको प्रकृतिका आधारमा तय गरिने उल्लेख गरिएको छ।
राष्ट्र बैङ्कले एक पटक प्रिमियम दर निर्धारण गरेर कर्जा स्वीकृत भएपछि त्यसलाई जथाभाबी बढाउन नपाइने स्पष्ट पारेको छ। साथै सुरुवातमा छुट दिएर पछि स्वतः ब्याजदर बढ्ने किसिमका योजना लागू गर्नसमेत रोक लगाइएको जनाएको छ।
परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकलाई कर्जा प्रस्ताव पत्र लिँदा आधार दर र प्रिमियम दरबारे स्पष्ट जानकारी लिन राष्ट्र बैङ्कले सुझाव दिएको छ। साथै आधार दर परिवर्तन हुँदा ब्याजदरमा कति असर पर्यो र त्यो कहिलेदेखि लागू भयो भन्ने विषयमा सम्बन्धित बैङ्क वा वित्तीय संस्थासँग जानकारी लिन पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ।
कर्जा लिँदा ब्याजदरबारे सचेत रहन राष्ट्र बैङ्कको आग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
