चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालका बीमा कम्पनीहरूको कुल बीमा व्यवसाय २ खर्ब रुपैयाँ नाघेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरूले कुल २ खर्ब १ अर्ब ३६ करोड १८ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन्। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२७ प्रतिशतले बढी हो। गत वर्ष वैशाखसम्म कुल बीमा शुल्क १ खर्ब ७६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ रहेको थियो।
हाल नेपालमा १४ जीवन, १४ निर्जीवन, ३ लघु जीवन र ४ लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरूले मात्रै वैशाखसम्म १ खर्ब ५९ अर्ब ९६ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा व्यवसाय १ खर्ब ४० अर्ब ३५ करोड २ लाख रुपैयाँमा सीमित थियो। यस आधारमा जीवन बीमा व्यवसाय १३.९८ प्रतिशतले विस्तार भएको देखिएको छ।
जीवन बीमा तर्फ पहिलो वर्ष सङ्कलित बीमा शुल्कमा उल्लेख्य वृद्धि देखिएको छ। समीक्षा अवधिमा कम्पनीहरूले ३९ अर्ब १७ करोड १२ लाख रुपैयाँ प्रथम बीमा शुल्क सङ्कलन गरेका छन् भने नवीकरणतर्फ १ खर्ब २० अर्ब ७९ करोड ४५ लाख रुपैयाँ उठाएका छन्। अघिल्लो वर्षको तुलनामा प्रथम बीमा शुल्क २६.७६ प्रतिशत र नवीकरण बीमा शुल्क १०.३७ प्रतिशतले बढेको हो।
जीवन बीमा लेखको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ। वैशाखसम्म सक्रिय जीवन बीमा लेख सङ्ख्या १ करोड ६५ लाख २५ हजार ९४९ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो सङ्ख्या १ करोड ५३ लाख ६ हजार ९९३ थियो। यसले सक्रिय बीमा लेखमा ७.९६ प्रतिशतको वृद्धि भएको देखाउँछ।
निर्जीवन बीमा कम्पनीहरूले पनि समीक्षा अवधिमा ४१ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा निर्जीवन बीमा व्यवसाय ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँमा सीमित थियो। यस क्षेत्रमा १३.९८ प्रतिशतको वृद्धि भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ।
यस्तै, म्यादी, लघु म्यादी तथा वैदेशिक रोजगार बिमा बाहेकका जीवन बीमा लेख सङ्ख्या ६० लाख ६५ हजार ७८९ पुगेको छ। यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ११.०६ प्रतिशतले बढी हो। म्यादी तथा लघु म्यादी जीवन बीमा लेख सङ्ख्या ८० लाख ५६ हजार ११८ पुगेको छ भने वैदेशिक रोजगार बीमा लेख २४ लाख ४ हजार ४२ कायम भएको छ। वैदेशिक रोजगार बीमा लेखमा भने अघिल्लो वर्षको तुलनामा ३.८९ प्रतिशतले कमी आएको छ।
बीमा पहुँच विस्तारतर्फ पनि सकारात्मक सङ्केत देखिएको छ। वैशाखसम्म बीमाको दायरामा आएको जनसङ्ख्या ५०.६६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो पहुँच ४७.३९ प्रतिशत थियो।
१० महिनामै बीमा व्यवसाय २ खर्ब नाघ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
