
मुस्ताङको उपल्लो क्षेत्रमा रहेको नेपाल–चीन सीमा नाका कोरलाबाट चालु आर्थिक वर्षमा ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार गत भदौ देखि जेठ १६ गतेसम्मको अवधिमा उक्त परिमाणको राजस्व उठेको हो।
गत भदौ ३१ गते देखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाका हुँदै चीनबाट आयात तथा नेपालबाट निर्यात भएका वस्तुहरूको कारोबारबाट उल्लेखनीय राजस्व प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार समीक्षा अवधिमा चीनबाट नेपाल भित्रिएका विभिन्न वस्तुबाट १३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ बराबरको भन्सार कारोबार भएको छ। विशेष गरी विद्युतीय सवारीसाधन, चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामग्री तथा विभिन्न इलेकट्रोनिक वस्तुको आयातले राजस्व सङ्कलनमा योगदान पुर्याएको छ।
यस्तै, नेपालबाट चीनतर्फ हस्तकलाका सामग्री तथा स्वदेशी उत्पादन निर्यात हुँदा २० करोड ५५ लाख ७४ हजार रुपैयाँ बराबरको भन्सार कारोबार भएको जनाएको छ।
कोरला नाका हुँदै पछिल्लो नौ महिनाको अवधिमा २ हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। ती सवारीसाधनको आयातबाट मात्रै ६ अर्ब ७६ करोड २ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयको तथ्याङ्क छ।
यद्यपि, पछिल्लो समय कोरला नाका हुँदै भित्रिएका विद्युतीय सवारीसाधनको आयात प्रक्रियामाथि प्रश्न उठेपछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको छ। भन्सार जाँच पास भइसकेका ६४९ वटा विद्युतीय सवारीसाधनको आयात प्रक्रियामा कुनै अनियमितता भए–नभएको यकिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।
समितिले कास्कीको हेमजा, पर्वतको कुस्मा, मुस्ताङको जोमसोम तथा कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा राखेका विद्युतीय सवारीसाधनको स्थलगत अनुगमन सम्पन्न गरिसकेको जनाएको छ। छानबिन प्रतिवेदनपछि आयात प्रक्रियाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
कोरला नाकाबाट ६ अर्ब भन्दा बढी राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
