नेपाल लाइफलाई ‘नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ।

कम्पनीको स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा प्राप्त यो सम्मानलाई नेपाल लाइफले आफ्नो अर्को ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले सोमबार काठमाडौँस्थित होटेल याक एण्ड यतीमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कायललाई संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्नुभएको हो।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट ढङ्गले प्रस्तुत गरेको, वित्तीय पारदर्शिता कायम गरेको, पर्याप्त खुलासा गरेको, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य लेखा मापदण्डको प्रभावकारी कार्यान्वयन गरेको तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई गोल्ड अवार्ड प्रदान गरिएको आईक्यानले जनाएको छ।

अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताउनुभयो। उहाँले यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्न थप जिम्मेवारी दिएको उल्लेख गर्नुभयो।

पराजुलीले कम्पनीका अध्यक्ष तथा सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहने बताउनुभयो।

कम्पनीका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिएको छ। कम्पनीले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको जनाएको छ। हालसम्म कम्पनीले १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको  छ। त्यसै गरी, नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको कम्पनीको दाबी छ।

नेपाल लाइफले इक्रा नेपालबाट ‘AA-(’ (डबल ए माइनस) क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बनेको पनि जनाएको छ। हाल कम्पनीका देशभर ७७ वटै जिल्लामा १९७ वटा कार्यालय सञ्चालनमा छन् भने ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल रहेको छ।

कम्पनीले आगामी दिनमा पनि ‘विश्वास, पारदर्शिता र उत्कृष्ट सेवा’ लाई प्राथमिकतामा राख्दै नेपाली नागरिकको आर्थिक सुरक्षा र समृद्ध भविष्य निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x