राष्ट्र बैङ्कले ३० अर्ब रुपैयाँको दुई महिने निक्षेप सङ्कलन उपकरण जारी गर्दै

Gyanmandu | Achieving Excellence Together
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको दुई महिने निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले साउन १३ गते बोलकबोलमार्फत उक्त उपकरण निष्कासन गर्ने जनाएको हो।

राष्ट्र बैङ्कका अनुसार बोलकबोल साउन १३ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत सञ्चालन हुनेछ। सोही दिन निक्षेप सङ्कलन उपकरण निष्कासन गरिनेछ भने साँवा तथा ब्याज आगामी असोज १२ गते भुक्तानी गरिने व्यवस्था गरिएको छ। उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँका गुण कमा कुल आह्वान गरिएको रकमसम्म बोलपत्र पेस गर्न सक्नेछन्।

राष्ट्र बैङ्कले प्राप्त बोलपत्रमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै रकम बाँडफाँट गर्ने जनाएको छ। एउटै ब्याजदरमा कुल निष्कासन रकमभन्दा बढी माग परेमा समानुपातिक (प्रो–राटा) आधारमा बाँडफाँट गरिनेछ।

स्वीकृत भएका संस्थाको रकम राष्ट्र बैङ्कमा रहेको खाताबाट कट्टा गरी निक्षेप खातामा जम्मा गरिनेछ। अवधि पूरा भएपछि ब्याजसहित साँवा सम्बन्धित संस्थाको खातामा फिर्ता गरिने केन्द्रीय बैङ्कले जनाएको छ।

राष्ट्र बैङ्कका अनुसार उक्त निक्षेप सङ्कलन उपकरणलाई अन्य बैङ्क तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। यद्यपि, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) गणनामा समावेश गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपात गणनामा भने समावेश गर्न सकिने व्यवस्था रहेको छ।

पछिल्लो समय बैङ्किङ प्रणालीमा अधिक तरलता बढ्दै गएपछि राष्ट्र बैङ्कले विभिन्न अवधिका निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट रकम खिच्दै तरलता व्यवस्थापन र ब्याजदर स्थायित्व कायम गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x