
बैङ्किङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैङ्कले पुनः २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत प्रणालीबाट अतिरिक्त तरलता प्रशोधन गर्न लागेको हो।
राष्ट्र बैङ्कले साउन २९ गते २० अर्ब रुपैयाँ बराबरको ३५ दिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ। यसको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ।
उक्त उपकरणमा सहभागी बैङ्क तथा वित्तीय संस्थाले आफूले लिन चाहेको निक्षेप रकमसँगै प्रस्तावित ब्याजदरसमेत बोलकबोल गर्नुपर्नेछ। यस प्रक्रियामा नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
निक्षेप दिन इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँबाट बोल गर्नुपर्नेछ। त्यसपछि १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमका आधारमा कुल २० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ।
राष्ट्र बैङ्कका अनुसार ३५ दिन अवधिको उक्त निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज आगामी असोज २ गते भुक्तानी गरिनेछ।
बैङ्किङ प्रणालीमा अतिरिक्त तरलता बढेपछि राष्ट्र बैङ्कले विभिन्न मौद्रिक उपकरणमार्फत नियमित रूपमा तरलता प्रशोधन गर्दै आएको छ। पछिल्लो २० अर्ब रुपैयाँको निक्षेप सङ्कलन पनि प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले गर्न लागिएको हो।
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले फेरि २० अर्ब खिच्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
