दाबी भुक्तानीमा समस्या र अस्वस्थ प्रतिस्पर्धा सृजना हुन नदिन न्यूनतम प्रिमियम दर: बीमा समिति



ज्ञानमाण्डू।बीमा समितिले नेपाल उद्योग वाणिज्य महासङ्घले गराएको ध्यानाकर्षणलाई संवोधन गर्दै मुलुकमा व्यापार व्यवसायको बीमा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुन नदिने उद्देश्यका साथ गैरमहशूल बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर (Minimum Premium Rate For Non Tariff Insurance Business) तोकेको स्पष्टिकरण दिएको छ ।

समितिले कार्तिक १० गते महासङ्घद्वारा 'निर्जीवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सिमा तोकिएकोमा महासङ्घद्वारा बीमा समितिको गम्भीर ध्यानाकर्षण' शीर्षकमा जारी गरेको प्रेस विज्ञप्ती प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

निर्जीवन बीमा अन्तर्गत अग्नि, मोटर, इञ्जिनीयरिङ्ग, सामुन्द्रिक, हवाई र विविध बीमा कमभन्दा कम प्रिमियम दरमा गर्ने गरिएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै निर्जीवन बीमा कम्पनीहरूले न्यूनतम प्रिमियम दर कायम गर्न पटक पटक बीमा समितिसमक्ष आग्रह गर्दै आएको समितिले जनाएको छ ।

यसरी कमभन्दा कम प्रिमियम दरमा गरिएका निर्जीवन बीमाको पुनर्बीमा गर्न विभिन्न अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूले अस्वीकार गर्ने गरेको र यस स्थितिमा निर्जीवन बीमाको दाबी भुक्तानीमा पनि समस्या पर्ने देखिएका कारण न्यूनतम प्रिमियम दर तोक्नु परेको समितिले निष्कर्ष दिएको छ ।

समितिले जीवन बीमा वा निर्जीवन बीमा जुन गरे पनि बीमितको बीमा रकम सुरक्षित रहनुपर्ने र बीमा कम्पनीहरूसँग भएका सम्झौता अनुरूप बीमितले समयमा नै दाबी भुक्तानी पाउनुपर्ने विषयमा समितिले जोड दिँदै आएको छ र सोही अनुसार बीमा कम्पनीहरूलाई निर्देशन दिने काम समेत हुँदै आएको उल्लेख गरेको छ ।

नेपालमा बीमा कम्पनीहरूले गर्ने बीमाले अन्तर्राष्ट्रिय रूपमा समेत मान्यता पाउने खालको हुनु आवश्यक रहेको समितिको भनाइ छ । यसो भएमा नेपालमा बीमा कम्पनीहरूले गर्ने बीमाको पुनर्बीमा ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूमा समेत हुने र बीमा कम्पनीहरूसँग भएको सम्झौता अनुसार बीमितले समयमै दाबी भुक्तानी पाउने अवस्था रहने समितिले सुझाएको छ ।

मुलुकले अवलम्बन गरेको खुला बजार अर्थव्यवस्थालाई स्वच्छ एवम् पारदर्शीरुपमा अगाडि बढाउनका लागि बीमा क्षेत्रका तर्फबाट गर्नुपर्ने योगदान गर्न समिति सदैव तत्पर रहेको विज्ञप्तीमा उल्लेख छ । न्यूनतम प्रिमियम दर लगायत बीमा क्षेत्रको विकास एवम् विस्तारका सम्बन्धमा निजी क्षेत्रबाट प्राप्त हुने सुझावहरूलाई समितिले सकारात्मक रूपमा लिने जनाएको छ ।

साथै, बीमा क्षेत्रमा विद्यमान समस्याहरूको समाधान गर्दै नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिस्तको तुल्याउने कार्यमा निजी क्षेत्रको समेत महत्त्वपूर्ण भूमिका रहने हुनाले यसका लागि सहकार्य गर्न समितिले नेपाल उद्योग वाणिज्य महासङ्घसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x