नेपाल बैंकको “८.५०% नेपाल बैंक ऋणपत्र २०८७" बिक्री खुला



ज्ञानमाण्डू।नेपाल बैंक लिमिटेडले मिति २०७८ बैशाख २२ गते देखि “८.५०% नेपाल बैंक ऋणपत्र २०८७" निष्काशन गरी बिक्री खुला गरेको छ ।

बैंकले रु. ३ अर्ब ५० करोड बराबरको, रु. १,००० प्रति ऋणपत्र अंकित मूल्यका दरले कुल ३५ लाख कित्ता हुन आउने ऋणपत्र निष्काशन गरेको हो । बैंकले निष्काशन गरेको कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थाहरु लाई व्यक्तिगत (Private Placement) तवरबाट बिक्री गर्नेछ। बाँकी रहेको १ अर्ब ४० करोड रुपैयाँ बराबरको कुल १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला भएको छ। त्यस्तै, बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको १४ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । 

नेपाल बैंक लिमिटेडले निष्काशन गरेको “८.५०% नेपाल बैंक ऋणपत्र २०८७" ऋणपत्रको अवधि १० वर्षको हुने छ । वार्षिक ८ दशमलव ५ प्रतिशतका दरले लगानीकर्ताहरुलाई उक्त ऋणपत्र बापत अर्धवार्षिक(६/६ महिनामा साउन १ र माघ १ गते) रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्यका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड नियुक्त भएको छ। 

नेपाल बैंकद्धारा जारी गरिएको यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण अर्थात १४ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र बिक्री छिटोमा बैशाख २२ गतेदेखि बैशाख २६ गतेसम्म बन्द हुने गरी तोकिएको छ । यस्तै, पर्याप्त आवेदन प्राप्त नभए ऋणपत्र बिक्री ढिलोमा जेठ २ गते सम्म लम्बिने छ ।

यस बैंकलाई ICRA Nepal Limited ले Low Credit Risk जनाउने “ICRANP -IR] Al” (pronounced as ICRA NP Issuer Rating Single A) ग्रेडिङ्ग मिति २०७७/०१/१२ मा प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्थाको रुपमा लिईन्छ । उक्त रेटिङ्गको समयावधि रेटिङ्ग प्रदान गरिएको मितिबाट १२ महिनासम्म कायम रहनेछ । 

लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x