व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी

ज्ञानमाण्डू।हिमाली जिल्ला म्याग्दीको तोरीपानीमा व्यावसायिकरूपमा सतुवा खेती सुरु गरिएको छ । दुई वर्षअघि इलामबाट बीउ ल्याएर परीक्षणको रूपमा गरिएको सतुवा खेती सफल भएपछि बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले व्यावसायिकरूपमा नै सतुवा खेती सुरु गरेका हुन् ।

गतवर्ष सतुवाका ३० हजार बिरुवा बिक्री गरेर रु छ लाख आम्दानी गरेका बानियाँले यस वर्ष तीन टनेलमा डेढ लाख बिरुवा हुर्काएका छन् । ती बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी हुने बानियाँले बताए । टिमुरलगायतका विभिन्न किसिमका औषधीय गुणले युक्त बहुउपयोगी जडीबुटी खेतीमा लागेका बानियाँले दुई वर्षअघि इलाम पुगेर रु एक लाख ११ हजारमा एक केजी सतुवाको बीउ खरिद गरेर ल्याई म्याग्दीमा सतुवा खेतीको शुरुआत गरेका थिए । बानियाँ सतुवा खेती गर्ने जिल्लाको पहिलो कृषक हुन् ।

“टिमुर खेतीसँगै सतुवा खेतीलाई व्यावसायिक रूप दिएको छु, मागअनुसारका बिरुवा पुर्‍याउन सकेको छैन”, बानियाँको भनाइ छ । उनका अनुसार नर्सरीमा उत्पादित डेढ लाख बिरुवामध्ये एक लाख बिरुवाको माग काभ्रे जिल्लाबाट, २० हजार बिरुवा बागलुङ र ३० हजार बिरुवा नेपाल रेडक्रस सोसाइटीले माग गरिसकेका छन् । आगामी वर्षदेखि वार्षिक एक करोड सतुवाका बिरुवा बिक्री गर्ने योजना रहेको बानियाँले बताए ।

समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेती गर्न सकिने बताउँदै बानियाँले तोरीपानी सतुवालगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताए । बानियाँले पहिलो वर्ष ग्रिनहाउस निर्माण, माटो परीक्षण गरी सतुवाको बीउ ल्याएर लगाएको बताए । उनका अनुसार अहिले सतुवाका बिरुवा खरिद गर्न बाहिरी जिल्लाबाट समेत मानिस आउन थालेपछि नर्सरीमा भीड लाग्न थालेको छ । 

बानियाँले समूहमा आउनेलाई प्रति बिरुवा रु ३५ र व्यक्तिगत रूपमा आउनेलाई प्रति बिरुवा रु ५० मा बिक्री गर्दै आएका छन् । बानियाँ सतुवा खेती गर्ने म्याग्दीको एक मात्र किसान हुन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x