डोटीमा बीमा कार्यक्रम शुरुआत

ज्ञानमाण्डू।डोटीमा स्वास्थ्य बिमा कार्यक्रम शुरुआत भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधवार आयोजित कार्यक्रममा दुई वृद्धालाई बिमा गरी यसको शुभारम्भ गर्दै बिमा अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिए । 

बिमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता व्यक्ति, ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बिमा गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिए । त्यस्तै स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ । एक घरका एकदेखि पाँच जनालाई रु तीन हजार ५०० र पाँचभन्दा बढी भए प्रतिएकजना बराबर रु ७०० का दरले वार्षिक प्रिमियम दर रकम लाग्नेछ । 

सुदूरपश्चिमका नौ वटै जिल्लामा बिमा कार्यक्रम कार्यान्वयनमा आएको छ । हालसम्म ४८८ स्थानीय तहमा बिमा कार्यक्रम विस्तार भइसकेको जनाइएको छ । विसं २०७२ चैत २५ गते पहिलो पटक कैलालीबाट सो कार्यक्रमको शुभारम्भ भएको थियो । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका डा भूषण मिश्रले भने, “सुदूरपश्चिमका सबै जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमा कार्यान्वयनमा आएको छ ” 

यसअघि प्रदेशका अन्य जिल्लामा लागू भएको बिमा कार्यक्रममा हालसम्म कूल जनसख्याको १२ प्रतिशत जनसङ्ख्या मात्र आबद्ध भएको जनाइएको छ । पछिल्लो जनगणना अनुसार प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेकोमा हालसम्म कार्यक्रममा दुई लाख ४६ हजार २०३ जना आबद्ध भएका छन् । कैलालीमा सबैभन्दा बढी र दार्चुलामा हालसम्म सबैभन्दा कम स्वास्थ्य बीमित रहेका बताइएको छ । बिमा बोर्डका अनुसार गरिब घरधुरी पहिचान भइसकेका जिल्लामा बीमितको सङ्ख्या बढी भए पनि पहिचान नभएका जिल्लामा सहभागिताको अवस्था कमजोर रहेको देखिएको छ । त्यसै गरी प्रदेश सरकारले कैलाली, अछाम, बझाङ र बाजुरा जिल्लामा गरिब घरधुरी पहिचान गरी परिचयपत्र समेत वितरण गरिसकेको छ । 

प्रदेशका अन्य पाँच जिल्लामा पहिचान हुन बाँकी रहेको जनाएको छ । बिमा बोर्डका अनुसार कैलालीमा एक लाख ३५ हजार ८३१ र दार्चुलामा पाँच हजार ६८५ मात्रै हालसम्म आबद्ध भएका छन् । बझाङमा ३० हजार ११२, बाजुरामा २६ हजार ५७४, अछाममा २५ हजार ८०६, बैतडीमा ११ हजार ९९० र कञ्चनपुरमा १० हजार १९५ बीमित रहेका छन् । हालसम्म ३९ हजार ३०१ले सो कार्यक्रमबाट स्वास्थ्य सेवा लिइसकेको र रु तीन करोड ८१ लाख ५ हजार २६२ लगानी भइसकेको जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x