भद्रपुर हुलाक बचत बैंकको पूँजी रु. तीन करोड

ज्ञानमाण्डू।झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैङ्कको पूँजी हाल रु तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित हुलाक बचत बैङ्कमा सरकारी कर्मचारीको रु दुई करोड र अन्यको रु एक करोड गरी रु तीन करोड पूँजी भएको हो । 

हुलाक कार्यालयकै भुइँतलामा बैङ्कको काउन्टर छ । सर्वसाधारण ग्राहकलाई छ प्रतिशत ब्याज र ज्येष्ठ नागरिकलाई सात प्रतिशत ब्याज उपलब्ध हुने हुलाक बचत बैङ्क फाँटका इन्चार्ज रामहरि खतिवडाले बताए । एक हजार १०० ग्राहक रहेको बैङ्कमा रु ५०० देखि रु नौ लाखसम्म बचत गर्न सकिनेछ । कर्मचारीलाई बिना धितो रु चार लाख ५० हजार ऋण दिने व्यवस्था गरिएको छ । मासिक तलबबाट कट्टी हुने गरी कर्मचारीलाई ऋण उपलब्ध गरिएको उनले बताए । ऋण लिएवापत कर्मचारीले आठ प्रतिशत ब्याज बुझाउनुपर्नेछ । सो ऋण ७२ किस्ता अर्थात् ६ वर्षमा तिरिसक्नुपर्ने नियम छ । 

हुलाक ऐन, २०१९ अन्तर्गत हुलाक बचत बैङ्क नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३÷३४ देखि हुलाक बचत बैङ्कको स्थापना भएको हुलाक कार्यालय प्रमुख दामोदर घिमिरेको भनाइ छ । देशभरका ११७ हुलाक कार्यालयमा उक्त बैङ्क स्थापना भएको छ । सानो पूँजी एकीकृत गरी देश विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ हुलाक बचत बैङ्क सञ्चालन गरिएको हो । 

हुलाक सेवा विभागको आर्थिक सेवा तथा टिकट शाखाले देशभरका बैङ्कसम्बन्धी कार्य हेर्ने गर्दछ । खतिवडाका अनुसार बैङ्कमा रु एक करोड ६० लाख मुद्दतीमा र रु एक करोड ५२ लाख ऋण लगानी गरेको छ । बैङ्कले बाल बचतलगायतका खातासमेत सञ्चालनमा ल्याएको उनको भनाइ छ । 

टिकट बिक्रीबाट आम्दानी: 

झापा जिल्ला हुलाक कार्यालयले टिकट बिक्रीबाट गत आर्थिक वर्ष २०७५/७६ मा रु ४८ लाख ९८ हजार ९१५ आम्दानी गरेको छ । कार्यालय प्रमुख घिमिरेले हाल मासिक रु चारदेखि पाँच लाखसम्मको टिकट बिक्री भइरहेको बताए । उनका अनुसार अघिल्लो आव २०७४/७५ मा रु ४५ लाख ५२ हजार ७९३ को टिकट बिक्री भएको थियो । सरकारले हुलाक कार्यालयलाई टिकटका लागि रु २० लाख बजेट दिने गरेको प्रमुख घिमिरे जानकारी दिए । 

सेवाग्राहीसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा हुलाक टिकट अनिवार्य चाहिन्छ । जिल्लाका विभिन्न सरकारी कार्यालयमा कामका लागि आएका सेवाग्राहीले निवेदनमा टिकट अनिवार्य टाँस्नु पर्छ । जिल्ला प्रशासन कार्यालय झापाको ढोकैमा हुलाककै कर्मचारी बसेर टिकट बिक्री गर्दै आएका छन् । हुलाक कार्यालयले रु तीन, रु पाँच, रु १०, रु १५, रु २०, र रु ३० का दरका टिकट जारी गरेको छ । हुलाक कार्यालय झापाको १७ इलाका हुलाक छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x