तरकारी खेतीमा आत्मनिर्भर बन्दै रामपुरका महिला

ज्ञानमाण्डू।यस क्षेत्रका महिलाहरू हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरू अग्रसर छन् । 

रामपुर नगरपालिका–७ मलेङ बस्ने गीता भट्टराईले तरकारी लगाएर राम्रो आम्दानी गर्ने गरेकी छिन् । करिब एक दशकदेखि तरकारी व्यवसायमा आबद्ध भट्टराईले पाँचदेखि सात रोपनी क्षेत्रफलमा तरकारी लगाउने गरेकी छिन् । उनले वर्षमा न्यूनतम रु तीन लाखभन्दा बढी आम्दानी लिन सफल भएकी छिन् । 

“तरकारी लगाउन सुरु गरेपछि अरूको भर पर्नु परेको छैन, आफ्नो खुट्टामा आफैँ उभिन सक्ने भएको छु, तरकारी लगाउने विभिन्न प्रविधि जानकारी भएपछि अहिले उत्पादन पनि राम्रै हुन्छ” उनको  भनाइ छ  । उनलाई तरकारी खेती सुरु नगर्दासम्म अरूको भरमा बाँच्नु परेको थियो । अहिले आफैँले तरकारी लगाएर कमाउन थालेपछि परिवारमा सुखका दिन आएको भट्टराईले अनुभव सुनाइन् । 

बहखोला बस्ने मथुरा ढकालले तरकारी लगाएर आफ्नो जीविका चलाउँदै आएकी छिन् । कम्तीमा पनि बाह्रै महिना तीन रोपनी जग्गामा तरकारी लगाएर छोराछोरीको पढाई खर्च, घर खर्च चलाउने गरेको उनले बताइन् । तरकारीबाट उनको परिवारको गुजारा राम्रोसँग चलेको छ ।उनले विभिन्न जातका तरकारी लगाउँदै आएकी छिन् । तरकारी बिक्रीबाट मासिक रु ३० हजारसम्म कमाई हुने गरेको ढकालले बताए । 

तरकारी नलगाउँदासम्म जीवनमा धेरै दुःख गर्नुभएकी ढकालले छ वर्ष यता तरकारी खेती निरन्तर गर्न थालेपछि अर्काको भर पर्नु नपरेको उनको भनाइ छ । सोही ठाउँकै विष्णुमाया पोखरेललाई तरकारी लगाउन थालेपछि श्रीमान्को भरमा पर्नुपर्ने अवस्था छैन । तरकारी लगाएर दिनहुँ हातमा पैसा आउन थालेपछि व्यवसायमा हौसला बढेको पोखरेल बताइन् । 

“आफ्नो खर्च चलाउन कसले दुई चार पैसा देला भनेर बस्नु जतिको दुःख जीवनमा केही रहेनछ, अहिले तरकारी लगाउन थालेपछि दिनहुँ हातमा दाम परिरहन्छ, आफ्नो खर्च सजिलोसँग चलाउन पाइएको छ” पोखरेलले भनिन् । 

रामपुर नगरपालिका–५ राङभाङ बस्ने ज्ञानुमाया कार्की दुई दशक यता तरकारी खेतीमा आबद्ध छिन् । करिब पाँच रोपनी जग्गामा उनको खेतमा हरियाली बा¥है महिना तरकारी हुन्छ । तरकारी खेतीमा कार्कीले रामपुरमा राम्रो पहिचान बनाएकी छ । “तरकारी लगाएरै दुई दशक बितेको पत्तो भएन, दिनदिनै तरकारी बेच्यो हातमा पैसा आइहाल्यो, यसरी नै आम्दानी लिन थालेको लामो समय भयो, तरकारीबाट नसोचेको आम्दानी भइरहेको छ”, कार्कीको भनाइ छ । 

तरकारीबाट उनले वर्षमा तीन लाखदेखि पाँच लाखसम्म कमाई गर्ने गरेकी छिन् । अहिले उनको व्यवसायबाट गाउँका अन्य महिलाहरूले पनि सिको गर्न थालेका छन् । घरायसी कामधन्दासँगै घरमै बसेर पनि दुई चार पैसा आम्दानी गर्न सकिन्छ । केही न केही गरियो भने दुई चार पैसा आम्दानी लिन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् रामपुरका महिलाहरू । यहाँका महिलाहरूको व्यवसायको अवलम्बन गर्न सकेमा महिला परनिर्भरता कम हुँदै जानेछ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x